काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक जटिलताको निकास निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा समयमै निर्वाचन सम्पन्न गर्नुमै रहेको स्पष्ट पारेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा बोल्दै संयोजक दाहालले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु नै अहिलेको प्रमुख कार्यभार भएको बताए।
उनले भने, “शान्ति, स्थायित्व र समृद्धिका लागि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ संसद् स्थापना गर्नुपर्छ। नयाँ संसद्ले संविधानमा रहेका अन्योलता हटाउने काम गर्नेछ।”
पछिल्ला राजनीतिक घटनाक्रम तथा ‘जेनजी’ आन्दोलनले पुरानो राजनीतिक सोच र स्थापित शक्तिलाई आत्मसमीक्षातर्फ बाध्य पारेको उल्लेख गर्दै उनले दलका नेतृत्व तहले आफ्ना कमजोरी पहिचान गरी सुधारतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए।
“हामीले आफ्नै आत्मसमीक्षा गरेर कमजोरी कहाँ भयो भनेर खोज्नुपर्छ। स्थापित शक्तिहरू अब नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पाखा लाग्ने मोडमा पुगेका छन्,” प्रचण्डले स्पष्ट पारे।
उनको भनाइले वर्तमान राजनीतिक संक्रमणकालको समाधान लोकतान्त्रिक अभ्यास, नयाँ जनादेश र व्यापक राष्ट्रिय सहमतिमार्फत मात्रै सम्भव हुने सन्देश दिएको छ।