• Thursday, March 5, 2026

जनकपुर–ढल्केबर ६ लेन सडकमा तीन आकस्मिक पुल निर्माण : पैदलयात्री सुरक्षा र ट्राफिक व्यवस्थापनमा ठूलो राहत


काठमाडौँ। मधेस–प्रदेश राजधानी जनकपुरधामतर्फ जाने मुख्य जनकपुर–ढल्केबर ६ लेन सडकखण्डका तीन अत्यधिक व्यस्त स्थानमा आकासे पुल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ। पैदलयात्रुका लागि सुरक्षित मार्ग, ट्राफिक नियन्त्रण र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै करिब रु १० करोड ५० लाख लागतमा पुल निर्माण भइरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ।

इञ्जिनियर उज्जवल झालका अनुसार लक्ष्मीनियाँ गाउँपालिकाको लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारस्थित महिला विकास चोक तथा सखुवा चोकमा आकासे पुल बनाइँदैछन्। एक महिनादेखि तीनै स्थानमा पिल्लरलगायत आधारभूत संरचना निर्माण जारी छ। समयमै काम सक्ने तयारीसहित ती सबै पुल पाँच दशमलव छ मिटर उचाइ, २९.४ मिटर लम्बाइ र तीन मिटर चौडाइका हुनेछन्।

लक्ष्मीनियाँ बजारमा रु ३ करोड ४२ लाख, महिला विकास चोकमा रु ३ करोड ३५ लाख र सखुवा चोकमा रु ३ करोड ४५ लाख लागतमा निर्माण हुँदैका यी पुलले दैनिक हजारौँ पैदलयात्रु र सवारीसाधनको अत्यधिक चाप रहे‍को सडकमा ट्राफिक व्यवस्थापन सहज बनाउने जनकपुर–ढल्केबर सडकको ट्राफिक प्रहरी प्रमुख सूर्यबहादुर शाहीले बताए।

स्थानीय व्यवसायी र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूका अनुसार आकासे पुल निर्माण सम्पन्न भएपछि दुर्घटना जोखिम घट्ने मात्र होइन, धार्मिक पर्यटकको चाप बढ्ने जनकपुर–धाम प्रवेशमार्गको सौन्दर्यकरण र सुरक्षित आवागमनमा पनि ठूलो टेवा पुग्नेछ।

Please Login to comment in the post!

you may also like