काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजेका लागि सर्वपक्षीय बैठक बोलाएकी छिन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार बैठकमा राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगका आयुक्त, सुरक्षा निकायका उच्च अधिकारी तथा जेनजीका प्रतिनिधिहरू सहभागी हुने छन्।
बैठकमा सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे सम्पूर्ण बृफिङ प्रस्तुत गर्नेछ। त्यसपछि निर्वाचन आयोगका आयुक्तहरूले पछिल्ला बहस र चुनौतीबारे आयोगको अद्यावधिक अवस्था जानकारी गराउने छन्। मुख्य रूपमा राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधिसभा निर्वाचन, कानुनी जटिलता, स्रोत–साधनको उपलब्धता, सुरक्षा चुनौती र आर्थिक व्यवस्थापनजस्ता विषय बैठकको केन्द्रमा रहने छन्।
हाल चरणबद्ध मतदान, बेजिल्ला मतदान तथा विदेशबाट मतदानसम्बन्धी चर्चाहरू बढिरहेका बेला आयोगको क्षमता र तयारीबारे पनि विस्तृत प्रस्तुति हुने भएको छ। यता, केही दलहरूले उठाएका सुरक्षा चिन्तालाई ध्यानमा राख्दै सुरक्षा निकायका उच्च अधिकारीहरूले अहिलेको समग्र सुरक्षा अवस्थामाथि प्रत्यक्ष बृफिङ दिने कार्यक्रम रहेको रावलले बताए।
आजको बैठक माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई नै मुख्य एजेन्डा बनाएर सञ्चालन हुने छ।