४ भदौको जेन–जी आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशभर ठूला मात्रामा हिंसा, आगजनी र तोडफोड भएको तथ्यांक सार्वजनिक भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै १५३ प्रहरी कार्यालयमा तोडफोड र आगजनी हुँदा केही भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। रानीपोखरीस्थित एआईजी कार्यालयसमेत क्षतिग्रस्त बनेको छ। आन्दोलनकारीको मुख्य निशानामा नक्सालस्थित प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) परेको थियो, यद्यपि त्यो जोगिन सफल भयो।
स्रोतहरूका अनुसार, आन्दोलनका क्रममा नेताहरू—सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री विष्णु पौडेल, गर्भनर विश्व पौडेल, एमाले नेता शंकर पोखरेल र प्रदीप ज्ञवाली—प्रहरी हेडक्वार्टर पुगेका थिए। नेताहरू त्यहाँ छिरेपछि आक्रोशित भीडले हेडक्वार्टरलाई घेराउ गर्दै तोडफोडको प्रयास गरेको थियो। भिड तितरबितर पार्न प्रहरीले करिब ५०० राउन्ड धातुका गोली चलाएको आन्तरिक रिपोर्टमा उल्लेख छ। डीआईजी दीपक रेग्मी नेतृत्वको छानबिन समितिको प्रतिवेदनअनुसार काठमाडौं जिल्लामा मात्रै १,८०३ राउन्ड गोली चलाइएको थियो, जसमा आधा भन्दा बढी गोली नक्साल हेडक्वार्टर जोगाउन खर्च भएको थियो।त्यसबाहेक, करिब २०० राउन्ड अश्रु ग्यास पनि प्रहार गरिएको र राति ११–१२ बजेतिर नेताहरू सुरक्षित रूपमा हेडक्वार्टरबाट बाहिरिएको बताइन्छ। प्रहरी अधिकारीहरूको भनाइमा, “हेडक्वार्टर जोगिनु प्रहरीको ठूलो सफलता हो, किनकि त्यहाँ क्षति पुगेको भए संस्थाको मनोबल धरासायी हुन्थ्यो।”
डीआईजी रेग्मी समितिले तयार पारेको प्रतिवेदनअनुसार, देशभर ४,०२३ राउन्ड धातुका गोली चलाइएको पुष्टि भएको छ—सबैभन्दा धेरै काठमाडौं उपत्यकामा (२,०००), त्यसपछि मधेश प्रदेशमा ६५०, कोशीमा ३००, सुदूरपश्चिममा ३०७ र लुम्बिनीमा १७० राउन्ड गोली चलेको उल्लेख छ। साथै, २,७०० रबरका गोली र ३,००० ब्ल्याङ्क राउन्ड चलाइएका थिए भने ८,६०० भन्दा बढी अश्रु ग्यास सेल प्रहार गरिएको प्रतिवेदनमा उल्लेख छ।आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीबाट २२ जनाको मृत्यु भएको पुष्टि भएको छ — काठमाडौंमा २० र सुनसरीमा २ जना। अधिकांश मृतकको टाउको र छातीमा गोली लागेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ। यता, प्रहरी तर्फ तीन जनाको मृत्यु भएको थियो — असई मिलन राय, जवान उत्तम थापा र सहायक हवल्दार अमृत गुरुङ।आन्दोलनका क्रममा ९८ हजार धातुका गोली हराएको वा लुटिएको तथ्यांकले प्रहरी प्रशासनलाई थप चुनौतीमा पारेको छ। समितिको प्रतिवेदनअनुसार यी गोलीहरू अधिकांश प्रहरी कार्यालयमा भण्डारणमा रहेका थिए, जसका केही आगजनीमा नष्ट भए भने केही प्रदर्शनकारीले लगेका थिए। साथै, २,८०० ग्यास सेल पनि हराएको उल्लेख छ।छानबिन समितिका एक सदस्यका अनुसार, प्रहरीले फिल्डमा प्रयोग गरेका हतियार सुरक्षित रहेका छन्, तर कार्यालयहरूमा राखिएका स्टकमा क्षति पुगेको हो। “हामीले उपलब्ध रेकर्डबाट हिसाब निकाल्न सकेका छौं,” ती अधिकारीले भने।
२४ भदौको आन्दोलनले मुलुकभरको प्रहरी संरचनामा गहिरो असर पारेको मानिन्छ। प्रहरीका उच्च स्रोतहरूका अनुसार, “यदि हेडक्वार्टर नै जलेको भए प्रहरी संस्थाको मनोबल पुनर्स्थापना गर्न वर्षौं लाग्थ्यो।” प्रहरी हाल लुटिएका हतियार र हराएका गोलीको खोजीमा व्यापक रूपमा संलग्न रहेको छ।