• Sunday, October 19, 2025

जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन्। प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म चार जना नयाँ मन्त्रीले शपथ लिनेगरी तयारी भएको छ।शुक्रबार साँझ प्राप्त जानकारीअनुसार, नयाँ मन्त्रीहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम छन्। श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्तालाई युवा तथा खेलकुद, रामलाई स्वास्थ्य तथा जनसंख्या र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। यद्यपि, टासीको नाममा थप छलफल भइरहेको स्रोतले जनाएको छ।को-को छन् नयाँ मन्त्री?

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउने गणपतिलाल  श्रेष्ठ सम्पदा संरक्षणका अभियान्ता हुन्। भूकम्पपछिको पुनर्निर्माणमा रानीपोखरी, पशुपति क्षेत्र र बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र कंक्रिटको प्रयोग तथा खुलामञ्चको व्यापारीकरणविरुद्ध उनले आवाज उठाउँदै आएका छन्।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने बब्लु गुप्ता सामाजिक कार्यमा सक्रिय छन्। कोभिडकालमा निःशुल्क खाना वितरण, कपडा बैंक स्थापना र ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० विद्यार्थीको शिक्षामा सहयोग गरेका उनी बिरामीका लागि रगत खोज्ने अभियानमा पनि सक्रिय छन्। उनी जेनजी आन्दोलनका प्रमुख अगुवामध्ये एक हुन्।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने रामजी राम रौतहटको चमार समुदायबाट पहिलो डाक्टर बनेका व्यक्ति हुन्। एमबीबीएस अध्ययनका क्रममा कलेजले अतिरिक्त शुल्क मागेर हैरानी दिए पनि उनले सास्ती खेप्दै डाक्टर बनेका थिए।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको टासी ल्हाजोम हुम्लाको नाम्खा गाउँपालिकामा जन्मिएकी हुन्। जलवायु परिवर्तनको मुद्दामा पैरवी गर्ने उनी दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट स्नातक हुन्। गैरसरकारी संस्थाको सहयोगमा काठमाडौंमा अध्ययन गर्दा उनले यो मुद्दालाई जोडदार रूपमा उठाएकी थिइन्।

स्रोतका अनुसार, जेनजी आन्दोलनमा सहभागी अन्य युवाहरूलाई प्रधानमन्त्रीको सचिवालयमा राख्ने तयारी भएको छ। गत २३ र २४ भदौको आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीले गरेकी छिन्। उनी २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन्। हाल उनको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् छ, जसलाई यो विस्तारले थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।यो विस्तारले जेनजी आन्दोलनका मुद्दाहरूलाई सरकारमा समेट्ने प्रयास भएको विश्लेषकहरूको भनाइ छ।

Please Login to comment in the post!

you may also like