• Thursday, March 5, 2026

संसद पुनर्स्थापना नै निकासको एकमात्र बाटो : सभामुख घिमिरे


सभामुख देवराज घिमिरेले असंवैधानिक तरिकाले संसद विघटन गरिएको भन्दै यसको पुनर्स्थापना अब अपरिहार्य भएको टिप्पणी गरेका छन्। बुधबार बिहान झापा, बिर्तामोडस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद पुनर्स्थापना भए मात्र देश राजनीतिक अनिश्चितताबाट बाहिर निस्कने बताएका छन्।

सभामुख घिमिरेका अनुसार संसद पुनर्स्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र छिटो सुनुवाइ हुनेछ भन्नेमा आफू विश्वस्त छन्। “कानुनी, व्यवहारिक र राष्ट्रिय आवश्यकताका आधारमा पनि संसद पुनर्स्थापना अनिवार्य छ,” उनले भने।

उनले संसद सञ्चालनको वातावरण चाँडै बन्ने विश्वास व्यक्त गर्दै जननिर्वाचित संस्थालाई विघटन गरेपछि देश थप राजनीतिक संकट र अनिश्चिततामा परेको टिप्पणी गरे।

संविधान संशोधनमार्फत वर्तमान समस्या समाधान गर्न सकिने उल्लेख गर्दै घिमिरेले जेन–जी आन्दोलनका माग सम्बोधनका लागि पनि संसद पुनर्स्थापना पहिलो शर्त भएको स्पष्ट पारे। “संसद फर्काएर आवश्यक संशोधन गर्दै अगाडि बढ्न सकिन्छ,” उनले जोड दिए।

यससँगै सभामुख घिमिरेले राजनीतिक दलहरूले संवाद र छलफललाई प्राथमिकतामा राखेर वर्तमान अवस्थाबाट निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गरे।


Please Login to comment in the post!

you may also like