पर्सा, काठमाडौं। पर्सा प्रहरीले वीरगञ्जमा फैलिएको हैजा सम्बन्धी प्रश्न उठाउँदै खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेको, धम्की दिएको आरोपमा किरण साह नामकी एक महिलालाई पक्राउ गरेको छ।पर्सा प्रहरी प्रमुख गौतम मिश्रका अनुसार, साहलाई शनिबार वीरगञ्जको मुर्लीबाट नियन्त्रणमा लिइएको हो। उनलाई पक्राउ गर्न खानेपानी मन्त्रालयको उजुरीको आधारमा कारबाही गरिएको हो। साहविरुद्ध साइबर अपराध सम्बन्धी उजुरी दर्ता भएको र सोधपुछ जारी रहेको उनले जानकारी दिए।
शुक्रबार राति सामाजिक सञ्जालमा एक भाइरल अडियो फैलियो, जसमा साह र मन्त्री यादवबीचको फोन वार्ता सुन्न सकिन्छ।अडियोमा देखिन्छ कि साहले मन्त्री यादवलाई वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण गर्न नसकेको विषयमा प्रश्न सोध्दै आक्रोश व्यक्त गरेकी छन्। उनले मन्त्रीसँग पटक–पटक सम्पर्क गर्न खोजे पनि फोन नउठाएपछि गम्भीर स्वरमा प्रश्न उठाएकी हुन्।साहले सुरुमा सोध्छिन्:“आपने फोन काहे नइखी उठावत? तपाईं प्रदीपज्यू बोलिरहनु भएको हो?”मन्त्रीले आफू भएको पुष्टि गरेपछि साहले आक्रोश मिश्रित प्रश्नहरू सुरु गर्छिन्:“वीरगञ्जमा कति जनाको हैजाका कारण मृत्यु भयो? तपाईंहरूले पानी वितरण गर्नुभयो, के जाँच गरेर पानी दिनुभयो? अहिले धेरै मान्छे अस्पतालमा भर्ना छन्, मेरै घरको मान्छे ICU मा छ। म तपाईंलाई छोड्दिनँ, डर लाग्दैन।”प्रहरीले साहविरुद्ध साइबर अपराध कानुनअनुसार सोधपुछ सुरु गरेको छ। मन्त्रालयले उजुरीमा उल्लेख गरेको छ कि फोन वार्तामा धम्कीपूर्ण भाषा प्रयोग गरिएको थियो।