काठमाडौं-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेकी छन्। उनले आफ्नो राजीनामालाई केवल व्यक्तिगत निर्णय होइन, ‘बुवा, पार्टी र आन्दोलनप्रतिको सम्मानका लागि चुपचाप हट्ने’ भावनात्मक बाटोको रूपमा प्रस्तुत गरेकी छन्।
मबार सार्वजनिक गरिएको एक विज्ञप्तिमा गंगा दाहालले पछिल्लो समय आफूविरुद्ध चलाइएका निरन्तर भ्रामक प्रचार, व्यक्तिगत आक्षेप र चरित्रहत्या प्रयासले आफू पीडित भएको स्पष्ट पारिन्। उनले भनिन्, “निरन्तर मलाई देखाएर प्रचण्ड र माओवादी केन्द्रलाई योजनाबद्ध ढंगले हमला गरिएको छ। यस्तो अवस्थामा म पदमा बसिरहनु मेरो उपस्थितिभन्दा बढी समस्या बन्ने देखेँ। त्यसैले म आफूलाई हटाउँछु – आफ्ना अभिभावक, पार्टी र आन्दोलनको भलाइका लागि।”भाइ प्रकाश दाहालको असामयिक निधनपछि आमाको हेरचाह, बुवाको सचिवालयको व्यवस्थापन र राजनीतिक सहयोग सबै जिम्मेवारी एकसाथ सम्हाल्दै आएकी गंगाले आफूले निस्वार्थ सेवा गर्दै आएको दाबी गरिन्। उनले लेखिन्, “मैले कहिल्यै व्यक्तिगत लाभका लागि कुनै कदम उठाइनँ। मैले जहाँ जहाँ रहेर काम गरेँ, निष्ठा, मर्यादा र मूल्यमा कुनै सम्झौता गरिनँ।”
गंगामाथि पछिल्लो समय सामाजिक सञ्जालदेखि मिडियासम्म विभिन्न किसिमका आरोपहरू लागिरहेका थिए। कहिले ‘लाखौंको घडी’, कहिले ‘महँगो ब्याग’– यस्ता सामग्रीमार्फत उनीमाथि निरन्तर प्रहार भइरहेको सन्दर्भमा उनले लेखिन्, “जन्मदिनमा साथीभाइले दिएका उपहारहरूलाई लिएर पनि अपमान र तिरस्कार भइरहेको छ। त्यो घडी सक्कली थियो कि नक्कली भन्ने थाहा छैन, त्यो त अब जलेर खरानी भैसक्यो। तर अझै पनि त्यही कुरामा मलाई बाँधेर घच्घच्याइरहेको देख्दा म निसब्द छु।”उनले आफ्नो भूमिकालाई हरेकचोटि पारिवारिक र राजनीतिक जिम्मेवारीको सन्तुलनका रूपमा बुझेको उल्लेख गरिन्। साथै उनले माओवादी आन्दोलनप्रति आफ्नो गहिरो निष्ठा अझै कायमै रहेको र यसपछि पनि कुनै न कुनै रूपमा पार्टीको साथ रहने संकेत गरेकी छन्।
प्रचण्डको सचिवालयबाट गंगा दाहालको राजीनामा केवल एक पदको त्याग मात्र नभएर, पार्टीभित्र बढ्दो व्यक्तिगत आक्षेप र चरित्र हत्याको प्रवृत्तिप्रति मौन प्रतिवादको रूपमा पनि हेरिएको छ। यो घटनाले अब माओवादी केन्द्रभित्रको आन्तरिक सम्बन्ध, जिम्मेवारीको वितरण र महिला नेतृत्वप्रतिको व्यवहारमाथि पनि बहस उठाउने सम्भावना छ।