• Wednesday, March 4, 2026

कुकुर तिहार आज: निष्ठा, सुरक्षा र संवेदनशीलताको प्रतीकको पूजा


कात्तिक कृष्ण चतुर्दशी, हिन्दू धर्म अनुसार आजको दिन कुकुर तिहार मनाइँदैछ। यो पर्व मानव सभ्यताको सबैभन्दा पुरानो र बफादार साथी कुकुरप्रतिको श्रद्धा, कृतज्ञता र सह–अस्तित्वको सम्मानस्वरूप मनाइन्छ।

धार्मिक महत्व र पौराणिक मान्यताहरू

हिन्दू धर्मशास्त्रमा कुकुरलाई केवल एक जनावरको रूपमा होइन, यमराजका दूत र भगवान भैरवका वाहनको रूपमा उल्लेख गरिएको छ। गरुड पुराण र महाभारत दुवैमा मृत्युपछि आत्माको यात्रा र मोक्षको द्वारमा कुकुरको उपस्थिति रहेको उल्लेख पाइन्छ।महाभारतको प्रसिद्ध स्वर्गारोहण कथामा, युधिष्ठिरले आफ्नो जीवनको अन्त्यमा कुकुरको साथ नछोडी स्वर्ग प्रवेशमा लैजान चाहन्छन्। अन्ततः त्यो कुकुर नै यमराजको रूपमा प्रकट हुन्छ। यो कथा धर्म, निष्ठा र सहिष्णुता प्रतीक हो।

नरक चतुर्दशीको दिन पनि

यस पर्वलाई नरक चतुर्दशी पनि भनिन्छ। धार्मिक विश्वास अनुसार, यस दिन बिहानै स्नान गरी शरीर र मन शुद्ध बनाएपछि कुकुरको पूजा गर्ने परम्परा छ। कुकुरलाई माला, टीका र मीठा परिकार खुवाइन्छ। जनश्रुति अनुसार जसले यो दिन कुकुरलाई सम्मान गर्दछ, उसले पापमोचन प्राप्त गर्दछ। यदी पूजा नगरी भोजन गरे, त्यसले यमराजको क्रोध भोग्नुपर्ने मान्यता छ।

सड़कका कुकुरलाई पनि सम्मान

कुकुर तिहारको विशेष पक्ष के हो भने, यो दिन घरपालुवा मात्र होइन, सडकका कुकुरहरूलाई पनि बराबरी सम्मान दिइन्छ। बालबालिकादेखि वृद्धसम्मले फूलमाला र टीकासहित सडकका कुकुरहरूलाई भोजन गराउँछन्। यो केवल धार्मिक विधि होइन, मानव र जनावरबीचको सह–अस्तित्वको गहिरो सन्देश हो।

मानव सभ्यताको पुरानो साथी

कुकुर मानव सभ्यतासँगै विकसित भएको जीव हो। सुरक्षा, संवेदनशीलता र निष्ठाको प्रतिमूर्ति कुकुरले घर, गोठ र समुदायको रक्षा गर्ने मात्र होइन, अपराध अनुसन्धानदेखि प्राकृतिक प्रकोपको चेतावनीसम्म दिन सक्छ। यसै कारण, सेना, प्रहरी लगायत सुरक्षाकर्मीहरू कुकुरको प्रयोग विशेष रुपमा गर्छन्।

धार्मिक भन्दा ठूलो मानवताको पर्व

कुकुर तिहार केवल एक धार्मिक उत्सव होइन, यो मानवता, सह-अस्तित्व र कृतज्ञताको पर्व हो। जसरी हामी आफ्ना प्रियजनलाई सम्मान गर्छौं, त्यसरी नै आजको दिन हामी हाम्रो निष्ठावान साथी कुकुरलाई सम्मान र प्रेम प्रकट गर्छौं।

Please Login to comment in the post!

you may also like