नेपालको राजनीतिक इतिहासमा कहिलेकाहीँ यस्ता व्यक्तित्व आउँछन्, जसको वास्तविक चरित्र लामो समयसम्म जनताका लागि रहस्य बनेर रहन्छ। युद्धकालमा प्रचण्ड त्यस्तै थिए। जङ्गलभित्रको गुप्त जीवन, रेडियो–समाचारमा आउने ‘अध्यक्ष प्रचण्ड’को नाम, कहिलेकाहीँ निस्कने धमिलो फोटो – यत्ति मात्र थियो सर्वसाधारणसँग। उनी क्रान्तिकारी थिए, निर्दयी थिए, दूरदर्शी थिए कि केवल अवसरवादी ? यो कौतुहलता २०६२/६३ को आन्दोलनपछि मात्र केही मत्थर भयो, जब उनी खुला राजनीतिमा आए।
आज, २०८२ मा आएर फेरि त्यस्तै कौतुहलता एउटा नयाँ पात्रलाई लिएर जागृत भएको छ – काठमाण्डौका मेयर बालेन शाह। बालेनका बेलाबेला आउने फेसबुक स्टाटसबाहेक उनको निजी जीवन, सोचाइ, योजना र पृष्ठभूमिबारे धेरैलाई खासै थाहा छैन। प्रचण्ड जस्तै उनी पनि ‘रहस्यमयी’ बनेका छन्, तर फरक यति हो – प्रचण्डको रहस्य बन्दुक र जङ्गलले बनाएको थियो भने बालेनको रहस्य उनकै मौनता र सोसल मिडियाले बनाएको छ।२०५२ देखि २०६३ सम्म प्रचण्डको नाम सुन्दा मान्छेहरू डराउँथे। माओवादी आक्रमण, जनसरकार, जनअदालतका कथा सुन्दा उनी एउटा ‘अदृश्य शक्ति’ जस्ता लाग्थे। तर जब उनी २०६३ मा बालुवाटार छिरे, प्रधानमन्त्री बने, टेलिभिजनमा अन्तरवार्ता दिन थाले, तब रहस्यको पर्दा च्यातियो। मान्छेले देखे – उनी पनि हाँस्छन्, रिसाउँछन्, कहिलेकाहीँ झूट बोल्छन्, सत्ता र कुर्सीका लागि सम्झौता गर्छन्। उनको क्रान्तिकारी छवि एउटा कुशल राजनीतिक खेलाडीको छविमा परिणत भयो। आज प्रचण्डलाई जो–कोहीले ‘बुझ्छु’ भन्छ, चाहे त्यो बुझाइ सकारात्मक होस् वा नकारात्मक।
बालेन २०७९ मा स्वतन्त्र उम्मेदवार बनेर मेयर जित्दा धेरैले उनलाई ‘युवा क्रान्ति’को प्रतीक ठाने। इन्जिनियर, र्यापर, विदेशबाट फर्केको युवा – यो कथा निकै आकर्षक थियो। तर तीन वर्ष बितिसक्दा पनि उनले आफ्नो निजी जीवन, पारिवारिक पृष्ठभूमि, आर्थिक स्रोत, दीर्घकालीन योजना बारे खुलस्त कुरा गरेका छैनन्। पत्रकारहरूले अन्तरवार्ता माग्दा टार्छन्। सञ्चारकर्मीले प्रश्न सोध्दा ‘म काम गर्छु, बोल्दिनँ’ भन्छन्।उनको सञ्चारको एकमात्र माध्यम फेसबुक स्टाटस बनेको छ। त्यहाँ पनि उनी कहिले कविता लेख्छन्, कहिले व्यङ्ग्य गर्छन्, कहिले संघीय सरकारलाई गाली गर्छन्। तर नीति, योजना, बजेटको पारदर्शी हिसाब कहिल्यै दिँदैनन्। फलस्वरूप मान्छेले उनलाई जति नजिकबाट हेर्न खोज्छन्, उति टाढा भेट्छन्।
दुवैलाई जनताले ‘विकल्प’ ठानेका थिए। प्रचण्डलाई पुराना पार्टीहरूको भ्रष्टाचार र राजतन्त्रविरुद्ध विकल्प ठानियो। बालेनलाई पुराना नेताहरूको असफलता र युवा असन्तुष्टिविरुद्ध विकल्प ठानियो। दुवैले ‘बाहिरिया’को छवि बनाए – प्रचण्ड गाउँ–जङ्गलबाट, बालेन विदेश र र्यापको संसारबाट।तर प्रचण्डले सत्ता पाएपछि आफूलाई खोले (बाध्यताले होस् वा रणनीतिले)। बालेनले सत्ता पाएपछि झन् बन्द भए। प्रचण्डको रहस्य बाहिर निस्कँदा धेरैलाई निराश बनायो। बालेनको रहस्य अझै कायम रहँदा कसैलाई आशा छ, कसैलाई शंका छ।इतिहासले देखाउँछ – रहस्य लामो समय टिक्दैन। प्रचण्डको रहस्य १२ वर्ष टिक्यो, त्यसपछि खुल्यो। बालेनको रहस्य कति टिक्छ ? यदि उनले २०८४ को निर्वाचनसम्म पनि आफूलाई यस्तै ‘रहस्यमयी’ राखे भने जनताले उनलाई पनि ‘बुझ्न’ थाल्नेछन् – तर त्यो बुझाइ सकारात्मक नहुन सक्छ। किनभने आजको पुस्ता सूचनाको भोको छ। मौनता र स्टाटसले मात्र अब पुग्दैन।
प्रचण्डले सत्ता र सम्झौताबाट आफूलाई खोले। बालेनले काम र पारदर्शिताबाट खोल्नुपर्नेछ। यदि उनले यो गरेनन् भने एक दिन जनताले उनलाई पनि ‘प्रचण्ड–२’ भन्न थाल्नेछन् – क्रान्तिकारी छवि बोकेर सत्तामा पुग्ने, तर सत्ता पाएपछि पुरानै ढर्रामा फर्कने।बालेन अझै समयमै आफ्नो रहस्यको पर्दा आफैँ उघारे हुन्छन् कि इतिहासले जबर्जस्ती उघारिदिन्छ ? यो प्रश्नको जवाफ आउँदो दुई–तीन वर्षमा पाइएला। तर इतिहास साक्षी छ – नेपालमा कुनै पनि ‘रहस्यमयी’ पात्र सधैं रहस्यमयी रहन पाएको छैन।