• Tuesday, March 3, 2026

भिजिट भिसामा विदेश भ्रमण अब सरल : पासपोर्ट, भिसा र टिकट मात्र हेर्ने


काठमाडौँ – वर्षौँदेखि विवादास्पद बनेको भिजिट भिसामा विदेश भ्रमण प्रक्रिया सरकारले सरल र सहज बनाउन लागेको छ। अध्यागमन विभागले अध्यागमन कार्यविधि, २०६५ संशोधन गरी अब पासपोर्ट, भिसा र टिकट मात्र जाँच्ने तीनबुँदे प्रावधान कार्यान्वयन गर्ने तयारी गरेको हो।

हालको व्यवस्थाअनुसार भिजिट भिसामा विदेश जाँदा ६ बुँदे मापदण्ड पूरा गर्नुपर्छ। यसमा पासपोर्ट, भिसा, दुईतर्फी हवाई टिकट, होटेल बुकिङ र न्यूनतम ५०० डलर देखाउनुपर्ने प्रावधान छ। नयाँ प्रस्तावमा दुईतर्फी टिकट, होटेल बुकिङ र ५०० डलरको अनिवार्यता हटाइने भएको छ। एकतर्फी टिकट मात्र पर्याप्त हुने विभागले जनाएको छ।

“दुईतर्फी टिकटका कारण ठगी बढेको र होटेल बुकिङ जाँच्ने प्रभावकारी प्रणाली नभएकाले यी प्रावधान हटाउँदै छौँ,” अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले भने। उनले थपे, “६ महिना अवधि भएको पासपोर्ट, सम्बन्धित देशको भिसा र टिकट मात्र हेर्ने गरी संशोधन प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेका छौँ।”

दलाल र ठगी रोक्न सरलीकरण

भिजिट भिसामा दलालको चलखेल रोक्न तथा सर्वसाधारणलाई सहज बनाउन यो कदम चालिएको अधिकारीहरू बताउँछन्। यसअघि अध्यागमनले शंकाकै भरमा यात्रु फर्काउने गरेकोमा आलोचना हुँदै आएको थियो। अघिल्लो सरकारको पालामा गृह मन्त्रालयको मिलेमतोमा दैनिक ५० लाखभन्दा बढी असुली भएको खुलेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको छानबिन गरिरहेको छ।

पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको समितिले एक महिनाअघि बुझाएको प्रतिवेदनले पनि कार्यविधि सरल बनाउन सिफारिस गरेको थियो। सोहीअनुसार संशोधन प्रक्रिया अघि बढेको गृह मन्त्रालयले जनाएको छ।

जोखिम न्यूनीकरणको प्रयास

सरल प्रावधानले दलाल र अध्यागमनबाट ठगिने सम्भावना घट्ने भए पनि विदेशमा बेचबिखन तथा ठगिने जोखिम बढ्न सक्ने चिन्ता छ। खाडी देशहरूमा भिजिट भिसामा गएर घरेलु कामदार बन्ने नेपाली महिलाको उद्धार बारम्बार गर्नुपरेको छ। “विदेश जाँदाभन्दा स्वदेश फर्कनेको स्क्रिनिङमा जोड दिन्छौँ,” विभागका एक अधिकारीले भने।

यसअघि बालकृष्ण खाण गृहमन्त्री हुँदा १७ बुँदे, नारायणकाजी श्रेष्ठको पालामा ६ बुँदे मापदण्ड लागू भएको थियो। अब तीन बुँदामा झारेर सरलीकृत गर्न लागिएको हो। कार्यविधि गृह मन्त्रालयबाट स्वीकृत भएपछि लागू हुनेछ।

Please Login to comment in the post!

you may also like