काठमाडौं – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत अनियमित रूपमा बढाइएको भ्रष्टाचार मुद्दामा अनुसन्धानको दायरामा परेका पूर्वमुख्यसचिव लीलामणि पौड्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाउने निर्णय गरेको छ।आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दा अख्तियारले पौड्याललाई ‘प्रमाणको अभाव’ देखाउँदै सफाइ दिएको हो। अख्तियार निकट स्रोतका अनुसार पौड्यालसँग बयानसमेत लिइएको थियो तर कसुर पुष्टि हुने ठोस आधार नभेटिएकाले उनलाई मुक्त गरिएको जनाइएको छ।पौड्याल मुख्यसचिव हुँदा पोखरा विमानस्थलसँग सम्बन्धित विभिन्न फाइल मन्त्रिपरिषद्मा पेश भएका थिए। विशेषगरी लागत बढाउने प्रस्तावमा उनको भूमिकामाथि प्रश्न उठेको थियो। तर अख्तियारको अनुसन्धानबाट मन्त्रिपरिषद्ले लागत बढाउने कुनै निर्णय नगरेको र पौड्यालले केवल निर्णयहरूको प्रमाणीकरण मात्र गरेको देखिएपछि उनलाई सफाइ दिइएको हो।
अख्तियारको निर्णयमा भनिएको छ, “मन्त्रिपरिषद्बाट भएको निर्णयहरूको प्रमाणीकरण गर्ने तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालले लागत अनुमान बढाएको विषयमा कुनै निर्णय नभएको खुलाएको देखिएबाट बयान जिकिर अन्यथा खण्डित भएको अवस्था देखिएन। पौड्यालका हकमा कसुर पुष्टि हुने प्रमाणको अभाव देखिएको हुँदा निजको हकमा हाल केही गरिरहन परेन।”यसअघि डा. बाबुराम भट्टराई र खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा पनि लागत बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेका थिए तर दुवैपटक मन्त्रिपरिषद्ले स्पष्ट रूपमा लागत वृद्धिको निर्णय नगरेको अथवा अधिकार प्राप्त निकायलाई नै जिम्मा दिएको देखिएको छ। त्यसैले ती सरकारहरूको संलग्नता नदेखिएको अख्तियारको ठहर छ।पोखरा विमानस्थलको लागत करिब २२ अर्बबाट बढाएर ३० अर्बभन्दा माथि पुर्याइएको आरोपमा अख्तियारले अन्य केही व्यक्तिविरुद्ध भने विशेष अदालतमा मुद्दा दायर गरेको छ।