काठमाडौंमा प्रहरीले मिटरब्याजमा पैसा लगानी गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२६, गोंगबुस्थित आफ्नै घरमा लुकाएर राखेको अवस्थामा करिब ४ करोड रुपैयाँसहित ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले सूचनाका आधारमा श्रेष्ठको घरमा छापा मारेको थियो। छापा मार्ने क्रममा प्रहरीले लुकाइएको ३ करोड ७५ लाख रुपैयाँ नगद बरामद गरेको छ।उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार, प्रारम्भिक अनुसन्धानबाट श्रेष्ठले सुनका गरगहना धितो राखेर मिटरब्याजमा ठूलो मात्रामा पैसा लगानी गर्ने गरेको देखिएको छ। प्रहरीले नगदसहित केही सुनका गरगहना पनि बरामद गरेको छ, जसको तौल र जाँच गर्न बाँकी रहेको बताइएको छ।
प्रहरीका अनुसार, श्रेष्ठको गोरखामा पनि घर रहेको खुलेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको र कानुनबमोजिम कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।