काठमाडौँ — पाँच वर्षको लामो अन्तरालपछि सडक बोर्ड नेपालले देशभरका २२ वटा सडक खण्ड र नागढुङ्गा सुरुङमार्गबाट सडक उपभोग दस्तुर (टोल ट्याक्स) उठाउने तयारी अन्तिम चरणमा पुर्याएको छ। कोभिड–१९ महामारीका कारण २०७६ देखि रोकिएको यो दस्तुर अब क्रमशः सबै प्रमुख राजमार्गमा लागू हुँदैछ।
भैरहवा–भूमही खण्डमा मंसिर १ गतेदेखि नै टोल संकलन सुरु भइसकेको छ। यहाँ ठूला सवारीलाई ३० र साना (चारपाङ्ग्रे) लाई २० रुपैयाँ पुरानै दरमा उठाइँदैछ। बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार निकट भविष्यमै नारायणगढ–हेटौंडा, मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा र वीरगञ्ज–पथलैया खण्डमा पनि टोल गेट राखिने छ। त्यसपछि मुग्लिन–पोखरा, बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–अत्तरिया, अत्तरिया–गड्डाचौकी, धुलिखेल–तातोपानी र काठमाडौँ–तराई द्रुतमार्ग गरी थप सात खण्डमा नयाँ टोल लागू हुनेछ। यसरी कुल २२ सडक र नागढुङ्गा सुरुङमा टोल तिर्नुपर्ने अवस्था बन्दैछ।२०८१ जेठ १७ मा मन्त्रिपरिषद्ले ‘सडक उपभोग दस्तुर कार्यविधि नियमावली, २०८१’ स्वीकृत गरेको थियो भने २०८२ साउन २६ मा नागढुङ्गा सुरुङको दस्तुर पनि तोकियो। सुरुङमा काठमाडौँ भित्रिँदा र बाहिरिँदा फरक–फरक शुल्क लाग्नेछ। कोभिडअघि १५ सडकबाट मात्र टोल उठ्थ्यो। अहिले सडकको स्तरोन्नति पूरा भएका ठाउँमा क्रमशः टोल गेट राख्ने नीति बोर्डले लिएको छ।नेपालमा टोल ट्याक्सको सुरुवात २०६७ असार १४ मा भैरहवा–भूमही र वीरगञ्ज–पथलैया खण्डबाट भएको थियो। २०७६ वैशाख २ मा १४ र २०७७ भदौ ८ मा नारायणगढ–मुग्लिन थपेर १५ पुर्याइएको थियो। तर महामारीले सबै बन्द भयो। अहिले फेरि सुरु गर्दा पुरानो दरलाई समयसापेक्ष बनाउनुपर्ने आवाज उठेको छ। बोर्डका निर्देशक केसी भन्छन्, “दश वर्ष पुरानो दरमा वार्षिक ३ प्रतिशत एस्केलेसन जोड्दा पनि दर बढाउनुपर्छ। नयाँ दर मन्त्रिपरिषद्मा प्रस्ताव लग्दैछौं।”
२२ वटै सडकमा मोटरसाइकल र स्कुटरबाहेक सबै सवारीले टोल तिर्नुपर्नेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयले प्रस्ताव गरेका नयाँ खण्डमा पनि चाँडै टोल गेट बन्नेछन्। सडकको मर्मत–सम्भार र स्तरोन्नतिका लागि उठाइने यो दस्तुरले सरकारलाई नियमित राजस्व दिने अपेक्षा बोर्डको छ।यद्यपि सर्वसाधारणले भने “सडक बनेको वर्षौँ भयो, अहिले मात्र टोल किन ?” भन्दै प्रश्न उठाइरहेका छन्। तर बोर्डको तर्क छ— सडकको निरन्तर मर्मत र गुणस्तर कायम राख्न टोल अनिवार्य छ। अबको केही महिनाभित्रै देशका मुख्य राजमार्गमा टोल गेट देखिने पक्का भएको छ। सडक प्रयोग गर्नेले सुविधाको मूल्य तिर्नैपर्ने दिन फेरि सुरु भएको छ।