नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेता–कार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित नभए त्यसका परिणाम अप्रिय र नोक्सानदायी हुन सक्ने चेतावनी दिएका छन्। ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका प्रतिक्रिया र चर्चालाई लक्षित गर्दै उनले अनावश्यक भ्रम र तरंग सिर्जना नगर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै पोखरेलले महाधिवेशनबाट भएका संस्थागत निर्णयको पालना सबैको कर्तव्य भए पनि त्यसको नाममा नेता–कार्यकर्ताबाट आत्मसमर्पण अपेक्षा गर्नु गलत हुने स्पष्ट पारेका छन्। “सबैले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्,” उनले उल्लेख गरेका छन्।महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेलले विगतमा पार्टीभित्रका आन्तरिक विवादका कारण एमालेले भोग्नुपरेका नकारात्मक अनुभवको स्मरण गराउँदै त्यस्तै अवस्था पुनः नदोहरिन नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन्। संस्थागत रूपमा भएका निर्णयको विरोधमा कुनै गतिविधि नहुने दाबी गर्दै उनले व्यवहारमा काखा–पाखा देखिए असन्तुष्टि स्वाभाविक रूपमा व्यक्त हुने धारणा राखेका छन्। उनका अनुसार यसपटक नेतृत्व चयनमा सर्वसम्मति बन्न नसक्नुका पछाडि नेतृत्वबाट ठोस पहल नहुनु पनि एउटा कारण हो, जसले कतिपय प्रतिनिधिहरूमा योजनाबद्ध रूपमा केहीलाई विदा गर्न खोजिएको हो कि भन्ने प्रश्न उत्पन्न गराएको छ।
पोखरेलले महाधिवेशनका क्रममा समूहगत प्रतिस्पर्धा भए पनि पार्टी जीवनको लोकतान्त्रिकरणजस्ता नीतिगत मुद्दा खुलेर उठाइएको बताएका छन्। ती विषय ‘अवधारणा पत्र’का रूपमा सार्वजनिक भइसकेको र बन्द सत्रमा औपचारिक रूपमा प्रस्तुत गरिएकाले लुकाउनुपर्ने केही नरहेको उनको भनाइ छ। पार्टी एकतालाई बलियो बनाउन सबै तहबाट जिम्मेवार व्यवहार आवश्यक रहेको उल्लेख गर्दै उनले विधि र प्रक्रियाबाट भएका निर्णयको निशर्त पालना, पार्टी विभाजनको सशक्त विरोध र सबै कार्यकर्ताको स्वाभिमान तथा आत्मसम्मानको संरक्षण अहिलेको मुख्य आवश्यकता भएको निष्कर्ष निकालेका छन्।अध्यक्षमा केपी शर्मा ओली विजयी भएको ११औँ महाधिवेशनपछि पदाधिकारी र केन्द्रीय समितिमा ओली पक्षको वर्चस्व कायम रहेको सन्दर्भमा पोखरेलको यो चेतावनीलाई पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन र सम्भावित टकराव रोक्न गरिएको महत्वपूर्ण आन्तरिक सन्देशका रूपमा हेरिएको छ।