एमालेका नेता ऐन महर एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् भने उनकी श्रीमती सनुजा श्रेष्ठ पक्राउ परेकी छन् । प्रहरी वृत्त, सोह्रखुट्टेबाट खटिएको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । युवतीको चरित्रहत्या गरेको आरोपमा महर गत भदौ महिनामा पक्राउ परेका थिए र हाजिरी जमानीमा छुटेका थिए । पछि काठमाडौं जिल्ला अदालतले उनलाई पुनः पक्राउ गर्न गत मंसिर २१ गते साइबर ब्यूरोलाई पत्राचार गरेको थियो । सोही आदेशअनुसार पक्राउ परेका महरलाई न्यायाधीश उमानाथ गौतमको एकल इजलासले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अस्कल क्याम्पसकी उपप्राध्यापकसमेत रहेकी एमाले नेत्री महरकी श्रीमती सनुजा श्रेष्ठलाई पनि सोही कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।