• Tuesday, March 3, 2026

जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति, अर्थमन्त्री खनालको प्रारम्भिक मूल्याङ्कन


काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण निजी क्षेत्रमा मात्र करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक मूल्याङ्कन प्राप्त भएको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले ५ पाँच जिल्लामा कुल १ हजार ९ सय ५७ इकाइमा क्षति पुगेको र जसमध्ये निजी क्षेत्रका ४१९ संरचनामा ठूलो मात्रामा आर्थिक क्षति भएको जानकारी दिए। उनका अनुसार निजी क्षेत्रमा भएको कुल क्षतिमध्ये करिब २३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी पनि परेको छ।

अर्थमन्त्री खनालले सरकार निजी क्षेत्रसँग विश्वास र सहकार्यको वातावरणमा अघि बढ्ने बताउँदै नियन्त्रणमुखी प्रणाली नबनाइने स्पष्ट गरे। उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनअनुसार नै निजी क्षेत्रलाई साथमा लिएर आर्थिक सुधार अघि बढाइने उनको भनाइ थियो। उनले अर्थतन्त्रलाई गतिशील बनाउन पूँजीबजार र घरजग्गा क्षेत्रलाई चलायमान बनाउने आवश्यकतामा पनि जोड दिए।

घरजग्गा क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने प्रयास भइरहेको उल्लेख गर्दै अर्थमन्त्रीले समग्र आर्थिक संरचना मजबुत बनाउन सरकारी प्रतिबद्धता दोहोर्याए।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कर प्रणालीमा एकद्वार प्रणाली लागू गर्न, कर प्रशासनलाई प्रविधिमैत्री बनाउन तथा विभिन्न प्रकृतिका कारोबारलाई एउटै नियममा नदाज्न आग्रह गर्दै महत्वपूर्ण सुझावहरू प्रस्तुत गरे। उनले राष्ट्र बैंकबाट जारी चालू पूँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने माग राखे। साथै, घरजग्गा व्यवसायमा देखिएको सुस्तता अन्त्य गर्न आवश्यक व्यवस्था मिलाउन र लगानी प्रवद्र्धन नीति शीघ्र ल्याउनुपर्ने चेम्बरको माग प्रस्तुत गरे।

Please Login to comment in the post!

you may also like