काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को मुख्य परिसूचक ५ अंकले घट्दै २५४० विन्दुमा झरेको छ।
सूचक घटेपनि बजारमा सबै कम्पनीको मूल्य समान रूपमा प्रभावित भएन। आज ७४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १६८ कम्पनीको मूल्य घटेको छ। त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजार सूचक कमजोर देखिए पनि कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच भयो।
आज सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको सेयर मूल्य पोजिटिभ सर्किट लागेर माथि उक्लिएको छ। त्यस्तै नबिल डिबेन्चर २०८५ मा ९.९१ प्रतिशत र नबिल डिबेन्चर २०८९ मा ६.९० प्रतिशत वृद्धि दर्ज भएको छ।
उता भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावटमा परेको छ। रुरु जलविद्युत् ९.५२ प्रतिशत, दरामखोला हाइड्रोपावर ६.०९ प्रतिशत र पिपुल्स हाइड्रोपावर ५.२३ प्रतिशतले घटेका छन्।
मौलिक रूपमा स्थिर रहँदा पनि आजको कारोबारले बजारमा मिश्रित मनोवृत्ति देखाएको विश्लेषकहरूको टिप्पणी छ।