काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कानुनले तोकेको आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।
मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले आइतबार जारी गरेको सूचनामा मन्त्रालय, विभाग, प्रतिष्ठान, अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूले पेसागत आचारण पूर्ण रूपमा कार्यान्वयन नगरेका गुनासो आएको उल्लेख गर्दै लागू कानुनी प्रावधानअनुसार काम गर्न आग्रह गरिएको जानकारी दिए।
उनका अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५२ देखि ६८ मा उल्लेखित आचारसम्बन्धी व्यवस्थाहरू—समयपालना, नियमितता, अनुशासन, राजनीतिक प्रभाव नपार्ने, राजनीतिमा संलग्न नहुने तथा सरकारविरुद्ध टिप्पणी नगर्ने—आदिको कडाइका साथ पालना गर्न कर्मचारीलाई भनिएको छ।
त्यस्तै, मन्त्रालयले सेवामा रहेका राष्ट्रसेवक कर्मचारीहरूले कम्पनी स्थापना/सञ्चालन, व्यवसाय गर्ने, निजी रूपमा अभ्यास गर्ने, राजनीतिक पदका लागि उम्मेदवारी दिने, हड्ताल वा प्रदर्शनमा सहभागी हुने जस्ता गतिविधि कानुनले निषेधित गरेको स्पष्ट गर्दै ती प्रावधान पूर्ण रूपमा लागू गर्न निर्देशन दिएको छ।
मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा प्रभाव पर्न नदिन कर्मचारीले आफ्नो जिम्मेवारी निष्ठापूर्वक बहन गर्न, पेसागत मर्यादा कायम राख्न र कानुनी अनुशासनमा काम गर्न आग्रह गरेको छ।