काठमाडौं। मौनतामा गुम्सिएको आवाज, अन्यायको छायाँमा हराएको अस्तित्व र सम्झनामा थिचिएको पीडाको कथा बोकेको नाटक ‘मञ्जिरा’ मण्डला थिएटरको मञ्चमा गुञ्जिन थालेको छ। वरिष्ठ रंगकर्मी तथा बहुप्रशंसित अभिनेता सरोज खनालको नौ वर्षपछि रंगमञ्चमा पुनरागमनले यो नाटकलाई अझै गहिरो अर्थ दिइरहेको छ।
द्वन्द्वकालको अन्धकारमय समयले च्यापेकी एक सर्वसाधारण महिलाको कथा यो नाटकको केन्द्रमा छ। नाटक यौनहिंसा, सत्ता र प्रतिरोधको संवेदनशील संवाद हो। जहाँ न्यायको खोजी हरेक दृश्यमा सास फेरिरहेको हुन्छ।
नाटकमा सरोज खनालसँगै सरिता गिरी, सरस्वती चौधरी, अनुप न्यौपाने र सुशांक मैनालीले बलियो उपस्थिति देखाएका छन्। पाँच पात्रहरूको समवेत स्वरले एक महिलाको चीत्कारलाई श्रोताको अन्तरमनसम्म पुर्याउँछ।
लेखनमा सोमनाथ खनाल र सन्देश घिमिरेको कलम चलाइएको छ भने निर्देशनको बागडोर सोमनाथ स्वयंले सम्हालेका छन्। निर्देशक खनालका अनुसार, “मञ्जिरा सन्देश होइन, अनुभूति हो। यो नाटक देखिँदैन, महसुस हुन्छ।”
करिब तीन दशकदेखि रंगभूमिमा क्रियाशील खनाल
२०७३ मा ‘बाह्र दुर्वाशा’पछि रंगमञ्चबाट टाढिएका थिए। उनको रंगमञ्चमा पुनः आगमन ‘मञ्जिरा’ मार्फत हुनु आफैंमा एउटा सांस्कृतिक पुनर्जागरणको संकेत हो।
मण्डला थिएटरको नाट्य सिजन २०८२ अन्तर्गत मञ्चन भइरहेका ११ नाटकहरूमध्ये यो दोस्रो प्रस्तुति हो। जेठ १६ देखि असार ८ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५:१५ बजे नाटक मञ्चन हुनेछ, शनिबार भने दिउँसो १:०० बजे अतिरिक्त शोको पनि व्यवस्था छ।
नाटकले रंगशाला भित्रै न्यायको स्पन्दन अनुभूत गराउँछ। कथावाचन मात्र होइन, मञ्जिरा एउटा मानसिक यात्रा हो — जहाँ दर्शक पीडाको स्पर्श गर्छ, प्रतिरोधको आवाज सुनिन्छ, र अन्ततः न्यायको टप्प टिपिन्छ।