झापा। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा मेची भन्सार कार्यालय हुँदै हुने अलैंची निर्यात उल्लेखनीय रूपमा बढेको छ। मंसिरसम्म अलैंची निर्यात ६० दशमलव १० प्रतिशतले वृद्धि भई पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबर पुगेको छ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार सो अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैंची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा तीन अर्ब ४५ करोड ६३ लाख रुपैयाँ बराबरको अलैंची मात्र निर्यात भएको थियो।
तर चिया निर्यात भने घट्दो क्रममा देखिएको छ। चालू आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेर एक अर्ब ८५ करोड ६२ लाख सात हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवको सोही अवधिमा दुई अर्ब ७० करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो।
कार्यालयको तथ्यांकअनुसार अन्य मुख्य निर्यातजन्य वस्तुहरूमा समेत उल्लेखनीय वृद्धि देखिएको छ। भेनीयर सिटको निर्यात १२९ दशमलव ९० प्रतिशतले बढेको छ भने छुर्पी ३२ प्रतिशत, अदुवा तथा सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोभी ३६ दशमलव १० प्रतिशत तथा मुसुरो दालको निर्यात ४८१ प्रतिशतले वृद्धि भएको छ।
यद्यपि केही वस्तुको निर्यातमा गिरावट आएको छ। प्लाइउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाताको निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमी आएको छ।
मेची भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा कूल १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ।