• Tuesday, March 3, 2026

पश्चिमी वायूको प्रभाव कायमै : तराईमा दिन–रात हुस्सु, पहाडी क्षेत्रमा आंशिक बदली


काठमाडौं। देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागिरहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मौसम आंशिक बदली रहेको छ।


महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लागिरहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, आज राति पनि तराईका अधिकांश स्थानहरूमा हुस्सु यथावत् रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहँदा अन्य पहाडी र हिमाली क्षेत्रहरूमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।

हुस्सु तथा कुहिरोका कारण तराई क्षेत्रका सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

Please Login to comment in the post!

you may also like