काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आइतबार राति फेसबुकमार्फत सार्वजनिक गरेको रहस्यमय पोस्टले नेपाली राजनीतिक वृत्तमा तरंग ल्याएको छ । रातो सोफामा गम्भीर मुद्रामा बसेको तस्बिरसहित ‘शुभकामना सबैलाई ! हामी आउँदै छौँ !’ भन्ने दुई लाइनको सन्देशले उनको आगामी कदमप्रति अनेक अड्कलबाजी सुरु भएको छ । पोस्टको स्पष्ट सन्दर्भ नखुलाइए पनि यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सम्भावित एकता, फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको तयारी, वा नेपाली कांग्रेसभित्र आजै सम्पन्न विशेष महाधिवेशनप्रति लक्षित संकेतका रूपमा हेरिएको छ ।
विशेषगरी कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियताबीच आएको यो सन्देशले बालेन अब केवल महानगरमै सीमित नरही राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा देखिन खोजेको संकेत दिएको विश्लेषण भइरहेको छ । छोटो तर गहिरो अर्थ बोकेको उनको स्टाटसले आगामी दिनमा नेपाली राजनीतिमा नयाँ मोड ल्याउने सम्भावनालाई झन् बलियो बनाएको छ ।