भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा आइतबार बिहानैदेखि एउटै प्रश्न घुमिरह्यो— सभापति शेरबहादुर देउवा आउलान् कि नआउलान् ?कार्यकर्ता, प्रतिनिधि र नेताहरूको आँखा मञ्चतिर थियो, तर मन महाराजगञ्जतिर।प्रतिनिधिहरू बिहानैदेखि देउवा र संस्थापन पक्षीय नेताहरूको ‘लेखाजोखा’ गरिरहेका देखिन्थे। को आयो, को आएन, को कुन पक्षमा उभियो—यिनै प्रश्नले हल भरिएको थियो।दिउँसो करिब ११ बजेतिर मञ्चको व्यवस्थापन भयो। कुर्सी होइन, कुसन राखिएको थियो—सभापति र शीर्ष नेताहरूका लागि। सभापति शेरबहादुर देउवाका लागि छुट्टै कुसन थियो, कार्यबाहक सभापति पूर्णबहादुर खड्काका लागि पनि।तर समय बित्दै गयो।न देउवा आए, न खड्का नै देखिए।
विशेष महाधिवेशनको औपचारिक सभापतित्व कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँले गरे। तर उद्घाटन आफैं गर्नुपर्दा महामन्त्री गगन थापा भावुक देखिए।“तल ओर्लिएर नेताहरूको तस्वीरमा माल्यार्पण गर्यौँ, दियो बाल्यौँ, गमलामा पानी हाल्यौँ,” गगनले भने,“हामीलाई यसमा खुसी लागेको होइन। त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौँ। हाम्रो कार्यबाहक सभापति यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौँ।”यो गुनासो केवल व्यक्तिगत पीडा थिएन, त्यो कांग्रेसभित्रको विभाजनको प्रत्यक्ष अभिव्यक्ति थियो।
महाधिवेशनको अर्को अनौठो दृश्य थियो—मञ्चमा नेताहरू कुसनमा, तल प्रतिनिधि कुर्सीमा।धेरैले यसलाई ‘युनिक’ भने। कसैले भने, यो प्रतीक हो—नेतृत्व अब भुइँतहको परीक्षणमा छ।अन्य दललाई बोलाउने परम्परा यसपटक तोडियो। कुनै पार्टीका नेता देखिएनन्। कांग्रेसका शुभेच्छुक मात्र उपस्थित थिए।यो महाधिवेशन केन्द्रीय समितिको होइन, प्रतिनिधिहरू आफैंको थियो।
बोल्ने नेताहरू धेरै थिए। तर कार्यकर्ता अन्तिमसम्म पर्खिरहेका थिए— गगन र विश्वका लागि।राजनीतिक कार्यक्रममा साँझपख हल रित्तिने दृश्य सामान्य हो। तर आइतबार साँझ ७ बज्दासमेत भृकुटीमण्डप भरिएको थियो।गगन–विश्व मञ्चमा उक्लिँदा छेउछाउका चिया पसल खाली भए।कुर्सीमा उभिएर, रुखमा चढेर, कसरी हुन्छ भाषण सुन्ने होड थियो।विश्वप्रकाश शर्माले मोबाइलको फ्ल्यास बाल्न आग्रह गर्दा भृकुटीमण्डप उज्यालो भयो।गगन थापाले ‘जय नेपाल’ भनेपछि हल गुञ्जियो।तर यो उल्लास केवल उत्सव थिएन।यो दबाब पनि थियो।
हस्ताक्षर कति पुग्ला भन्ने अनिश्चितता दिनभर रह्यो। ५४ प्रतिशतको आह्वान थियो, तर पुनः संकलनमा कति पुग्ने टुंगो थिएन। ५६ प्रतिशत नाघ्दा पनि प्रश्न उस्तै थियो— नीति बदल्ने कि नेतृत्व नै ?गाउँघरका कामधाम छाडेर आएका कार्यकर्ता खुलेरै भन्दै थिए,“अब गगन–विश्व पछाडि हट्न पाउने छैनन्। जे भनेर हस्ताक्षर गरियो, त्यही गर्नुपर्छ।”गगननिकट नेताहरू पनि स्वीकार गर्दै थिए,“अपेक्षा गरेभन्दा धेरै ठूलो दबाब बनेको छ।”
शेखर कोइराला पक्षका प्रतिनिधि पनि माहोल बुझ्न आइपुगेका थिए। उनीहरू हस्ताक्षर गर्ने कि नगर्ने भन्नेमा अन्यौलमा थिए।“आज गर्यौँ भने भोलि नेतृत्व परिवर्तनमा फसिन्छ कि?” भन्ने डर थियो।तर शेखर कोइरालाको अभिव्यक्ति सामाजिक सञ्जालमा आएपछि माहोल फेरियो।कोशी प्रदेशका पूर्वमुख्यमन्त्री देखिनासाथ धेरैको प्रतिक्रिया थियो—“अब मध्यधार पनि यतै आउँछ।”
कांग्रेस फुट्छ कि फुट्दैन भन्ने प्रश्न भृकुटीमण्डपमा कसैको प्राथमिकतामा थिएन।सबैको जिज्ञासा एउटै थियो—यो विशेष महाधिवेशनले नेतृत्व बदल्न सक्छ कि सक्दैन ?कार्यकर्ताको भाषा कठोर थियो।गेटबाट निस्कँदै एक प्रतिनिधिले भने,“५६ प्रतिशत हुँदा पनि साहस गरेनन् भने, या त गगन–विश्वले राजनीतिबाट बिदा लिनुपर्छ, या हामीले।”अब निर्णय सोमबार हलले नै गर्नेछ।तर आइतबार भृकुटीमण्डपले एउटा कुरा भने स्पष्ट गरिसकेको छ—कांग्रेस अब भावनात्मक मोड पार गरिसकेको छ।अब निर्णय नआए, इतिहासले प्रश्न सोध्नेछ।