• Tuesday, March 3, 2026

जनमुक्ति मार्ग निर्माणमा तीव्रता


काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारि क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको जनमुक्ति मार्ग निर्माणले पछिल्लो समय तीव्रता पाएको छ । महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको दैनिकी सहज बनाउने लक्ष्यसहित निर्माण भइरहेको यो सडकले दशकौँदेखि भोग्दै आएको भौगोलिक कठिनाइ अन्त्य गर्ने अपेक्षा गरिएको छ । जिल्लाको रोशी गाउँपालिकास्थित पिन्थलीबाट सुरु भई रजबास, चारकिल्ला, तीनखुट्टे, देवीटार, घर्तिछाप, गोकुले, छोटेसाहन हुँदै खानीखोलाको तालढुङ्गा र मकवानपुरको भोर्लेनी–झुरझुरे भएर मदनभण्डारी लोकमार्ग जोड्ने यो सडक खण्ड करिब ८० किलोमिटर लामो छ ।

हाल रजबास–तीनखुट्टे खण्डअन्तर्गत महाभारत गाउँपालिकाको कोलटार आसपासमा सडक ढलान, पर्खाल र नाली निर्माणको काम भइरहेको छ । तीनखुट्टे–देवीटार खण्डमा पर्ने खोलाघारी र घ्याब्रिङ क्षेत्रमा कालोपत्रका लागि बेस हाल्ने तथा अन्य स्थानमा संरचनागत काम तीव्र गतिमा अगाडि बढाइएको छ । लभडाँडा–छोटेसाहन खण्डमा समेत नाली, पर्खाल र कालोपत्रको तयारी भइरहेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।सुरुमा जिल्ला सदरमुकाम धुलिखेललाई पालिका केन्द्रसँग जोड्ने उद्देश्यले अघि बढाइएको यो योजना पछि बागमती प्रदेशको राजधानी हेटौँडासँग सहज आवतजावत गराउने लक्ष्यसहित विस्तार गरिएको हो । प्रदेश सरकारले यसलाई प्रादेशिक मार्गका रूपमा लिएर प्राथमिकताका साथ बजेट र अनुगमन गर्दै आएको छ ।तीनखुट्टे–खोलाघारी–देवीटार ८.७ किलोमिटर सडक खण्डको काम २०७७ सालमा सुरु भए पनि निर्माण व्यवसायीको लापरबाहीका कारण लामो समय अलपत्र परेको थियो । पटक–पटक म्याद थप र सरकारी दबाबपछि अहिले कामले गति लिएको हो । निर्माण कम्पनीका अनुसार यस वर्ष अघिल्ला वर्षको तुलनामा काम तीव्र रूपमा भइरहेको छ र आगामी वैशाखसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

रजबास–चारकिल्ला–तीनखुट्टे खण्डमा करिब ९५ प्रतिशत संरचनाको काम सकिएको छ । १५.५ किलोमिटर सडकमध्ये ११ किलोमिटर कालोपत्र र बाँकी खण्डमा ढलान भइरहेको छ । विभिन्न खण्डमा एक सयभन्दा बढी जनशक्ति परिचालन गरी कामलाई निरन्तरता दिइएको जनाइएको छ ।महाभारत गाउँपालिकाभित्र पर्ने करिब ४४ किलोमिटर सडक आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सडक सञ्जाल पूरा भएपछि यस क्षेत्रका नागरिकको शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारमा सहज पहुँच बढ्ने र जीवनस्तरमा उल्लेख्य सुधार आउने स्थानीयको अपेक्षा छ ।

Please Login to comment in the post!

you may also like