काठमाडौं — अदालतको आदेशको भावना विपरीत अर्थमन्त्री रमेश्वर खनालले बीमा प्राधिकरणको नेतृत्वमा पुनः परिवर्तन गरेका छन्। यसअघि अध्यक्षका रूपमा कार्यरत जनकराज शर्मालाई हटाउँदै अर्थ मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको नेतृत्व सुम्पिने निर्णय गरिएको हो।यसअघि अर्थमन्त्री खनाल पूर्वअध्यक्ष शरद ओझालाई अदालतको आदेश विपरीत हाजिर गर्न नदिई विवादमा तानिएका थिए। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मन्त्रालयका सचिवलाई नियामक निकायको नेतृत्व दिनु सरकारको नियतमाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ।
बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति लामो समयदेखि विवादमा रहँदै आएको छ। अदालतले नियुक्त अध्यक्ष शरद ओझालाई हाजिर गराउन न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तर उक्त आदेशको कार्यान्वयन नगरी अर्थ मन्त्रालयले कार्यकारी निर्णयमार्फत पटक–पटक नेतृत्व परिवर्तन गर्दै आएको देखिन्छ। पछिल्लो निर्णयलाई अदालतको आदेशको अवज्ञा गरिएको रूपमा लिइएको छ।शरद ओझाको नियुक्ति कानुनी प्रक्रिया पूरा नगरी गरिएको भन्दै अदालतमा रिट दायर भएको थियो। मुद्दा अझै विचाराधीन रहेकै बेला उनलाई पदमुक्त गर्दै जनकराज शर्मालाई जिम्मेवारी दिइएको थियो। त्यसको केही समयपछि सचिव पौडेललाई अध्यक्षको जिम्मेवारी दिनु कानुनी शासनमाथिको हस्तक्षेप भएको कानुनविद्हरूको टिप्पणी छ।पदमुक्त गरिएका अध्यक्ष शरद ओझाले आफ्नो हटाइ राजनीतिक दबाबका कारण भएको आरोप लगाएका छन्। उनले अदालतको अन्तिम फैसला नआउँदै गरिएको नेतृत्व परिवर्तनले कानुनी प्रक्रियालाई कमजोर बनाएको बताए।“अदालतमा मुद्दा विचाराधीन रहँदा हतारमा नेतृत्व परिवर्तन गर्नु गलत परम्परा हो,” ओझाले प्रतिक्रिया दिए।