नेपालको सामाजिक सुरक्षा कोषले आमनागरिकलाई सामाजिक न्यायको छहारी दिने सपनालाई मूर्त रूप दिँदै झण्डै एक खर्ब रुपैयाँको कोष निर्माण गरेको छ । हालसम्म ९५ अर्ब ४४ करोडभन्दा बढी योगदान रकम जम्मा भइसकेको यो कोषमा २२ हजारभन्दा बढी रोजगारदाता र २६ लाख ४१ हजारभन्दा बढी योगदानकर्ता आबद्ध भएका छन् । कोषले १७ अर्ब ६४ करोडभन्दा बढी रकम विभिन्न दाबी भुक्तानीमार्फत श्रमिकको जीवनमा राहतको सास फेरिदिएको छ । औषधि उपचारदेखि मातृत्व सुरक्षा, दुर्घटना-अशक्तता भत्ता, आश्रित परिवारको संरक्षण र अवकाशको सम्मानजनक बिदाइसम्म—यी सबै सुविधा अब श्रमिकको हातको पहुँचमा छन् ।
विशेष गरी वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा कोषमा समेट्ने सरकारको निर्णयले यो अभियानलाई थप गति दिएको छ । स्वरोजगारदेखि उद्योग-प्रतिष्ठानका श्रमिकसम्म सबैले आफ्नो भविष्यको ढाल यहाँ बुन्न सक्ने अवस्था बनेको छ । तर कोषको आकार जति ठूलो बन्दैछ, त्यति नै चुनौती पनि बढ्दैछन् । योगदानको यो विशाल राशीलाई सुरक्षित र उत्पादनशील लगानीको बाटो देखाउनु अबको ठूलो जिम्मेवारी बनेको छ । थप सिर्जनशील योजना र पारदर्शी व्यवस्थापनबिना यो कोष केवल संख्याको पहाड बन्न सक्छ, तर सही दिशामा हिँडेमा यो नेपालका श्रमजीवी वर्गको सबैभन्दा ठूलो साथी र संरक्षक बन्नेछ ।