• Thursday, April 9, 2026

समर्थन मूल्य नतोकिँदा टीकापुरका किसान मर्कामा, गहुँ सस्तोमा बेच्न बाध्य


टीकापुर।  टीकापुर क्षेत्रका किसानहरूले यस वर्ष गहुँको उचित मूल्य नपाएको गुनासो गरेका छन्। गत वर्ष प्रतिक्विन्टल रु चार हजारसम्ममा बिक्री भएको गहुँ यस वर्ष करिब रु तीन हजार ८०० मा मात्र बिक्री गर्नुपरेको छ, जसले किसानहरू आर्थिक रूपमा प्रभावित भएका छन्। किसानका अनुसार केही दिनअघि आएको वर्षा र हुरीबतासले गहुँ उत्पादनमा क्षति पुर्‍याएको छ। उत्पादन घट्नुका साथै गुणस्तरमा समेत असर परेकाले बजारमा अपेक्षित मूल्य पाउन कठिन भएको छ।

स्थानीय किसान रुपलाल चौधरीले मेहनतका बाबजुद उचित मूल्य नपाउँदा निराशा व्यक्त गरे। उनले समयमै मल र बीउ नपाउनु, र बिक्रीका बेला उचित मूल्य नपाउनु किसानको प्रमुख समस्या भएको बताए।त्यस्तै, किसान मञ्जित रावलका अनुसार सरकारले समयमै गहुँको समर्थन मूल्य नतोक्दा किसानहरू प्रत्यक्ष रूपमा मारमा परेका छन्। उनका अनुसार उत्पादनदेखि बिक्रीसम्म किसानले विभिन्न समस्या झेलिरहेका छन्।

स्थानीय खरिदबिक्री केन्द्रहरूमा पनि गहुँको मूल्य गुणस्तर अनुसार फरक–फरक रहेको छ। राम्रो गहुँ प्रतिक्विन्टल रु तीन हजार ८०० देखि रु तीन हजार ९०० सम्ममा खरिद भइरहेको छ भने कम गुणस्तरको गहुँ रु तीन हजार ६०० सम्ममा किनिने गरिएको छ।खाद्यान्न व्यवसायीहरूका अनुसार कैलालीबाट खरिद गरिएको गहुँ नेपालगन्ज र धनगढीका मैदा मिलमा करिब रु चार हजारमा बिक्री हुने गरेको छ। यसले किसान र बजारबीच मूल्य अन्तर देखाएको छ।

पौडेल राइस मिलका सञ्चालक रामहरि पौडेलका अनुसार यस वर्ष मौसम प्रतिकूल हुँदा गहुँको दाना सानो र माटो मिसिएको अवस्थामा बजारमा आएको छ, जसले मूल्य घटाउन बाध्य बनाएको छ। महत्त्वपूर्ण कुरा के छ भने, यस वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य अहिलेसम्म निर्धारण गरेको छैन। गत वर्ष भने प्रतिक्विन्टल रु तीन हजार ८६७.३८ समर्थन मूल्य तोकिएको थियो।

कृषि मन्त्रालयले समर्थन मूल्य निर्धारणका लागि प्रस्ताव पठाइसकेको जनाएको भए पनि ढिलाइका कारण किसानले घाटामा गहुँ बिक्री गर्नुपरेको छ। टीकापुर नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक मोतिसिंह विकले समयमै समर्थन मूल्य निर्धारण गरिए किसानलाई राहत मिल्ने बताएका छन्। उनले समर्थन मूल्य नहुँदा बिचौलियाको प्रभाव बढ्ने र किसान ठगिने सम्भावना उच्च हुने उल्लेख गरे।

समग्रमा, समर्थन मूल्य नतोकिँदा र मौसमको प्रतिकूल प्रभावका कारण यस वर्ष टीकापुरका किसानहरू दोहोरो मारमा परेका छन्।

Please Login to comment in the post!

you may also like