• Tuesday, March 3, 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस अन्तिम साताबाट गर्ने तयारी



काठमाडौं– नेपालको प्रमुख दल नेपाली कांग्रेसको संस्थापन पक्षले १५औं महाधिवेशन पुसको अन्तिम साताबाट सुरु गर्ने गरी कार्यतालिका ल्याउने तयारी गरेको छ। विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्दै नियमित महाधिवेशन गर्ने गरी यो प्रस्ताव अघि सारिन लागेको हो।

सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा यो कार्यतालिका पेस हुने संस्थापन पक्षका नेता रमेश लेखकले जानकारी दिए। उनकाअनुसार, पुस २७ गतेबाट महाधिवेशन सुरु हुने गरी मिति सहितको प्रस्ताव पेस गरिनेछ। "चुनावअघि नै नियमित महाधिवेशन गर्ने पक्षमा हामी सधैं थियौं। मैले डेढ महिनाअघिदेखि यो कुरा भन्दै आएको थिएँ, तर अहिले सभापतिजीले पनि सहमति जनाउनुभएको छ," लेखकले भने, "अब सहमतिमा यो प्रस्ताव पारित हुने अपेक्षा छ।"

यो प्रस्ताव विशेष महाधिवेशन माग भएको अवधिभित्रै (९० दिनभित्र) नियमित महाधिवेशन सम्पन्न गर्ने गरी तयार पारिएको हो। यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस १५ देखि १९ गते वा पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरेका थिए। तर, संस्थापन पक्षले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्ने अडान राख्दै आएको थियो।

पछिल्लो विकासमा सभापति शेरबहादुर देउवाले संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूसँगको छलफलमा विशेष महाधिवेशनको प्रस्ताव फिर्ता भए पुसमै नियमित महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका थिए। यसले पार्टीभित्रको विवाद समाधानको आधार तयार गरेको छ। डा. शेखर कोइरालासँगको भेटमा पनि संस्थापन पक्षले पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए।

यो महाधिवेशनले पार्टीको नेतृत्व चयनसँगै सांगठनिक पुनर्संरचनालाई गति दिने अपेक्षा गरिएको छ। पार्टीभित्र फागुन निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि भन्ने मतभेदले चर्किएको तनाव यो प्रस्तावले केही हदसम्म शान्त हुन सक्ने नेताहरूको भनाइ छ। केन्द्रीय समितिको बैठकले यो कार्यतालिकालाई अन्तिम रूप दिने भएकाले पार्टी एकताको नयाँ अध्याय सुरु हुने विश्वास गरिएको छ।

Please Login to comment in the post!

you may also like