त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थापनाकालदेखि हालसम्म बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय केन्द्रित रहेको परीक्षा प्रणालीलाई प्रदेशस्तरमा विकेन्द्रित गर्ने निर्णय गरेको छ । लामो समयदेखि विद्यार्थीहरूले देशका जुनसुकै स्थानबाट पनि परीक्षा दिन पाउनुपर्ने माग उठाउँदै आएका थिए ।पछिल्लो साता त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले परीक्षा नियन्त्रण कार्यालय परिसरमा धर्ना दिएपछि विश्वविद्यालय प्रशासन र विद्यार्थी प्रतिनिधिबीच सहमति भएको थियो । सोही सहमतिअनुसार परीक्षा प्रणाली सुधारको सुरुआत गर्दै त्रिविले पहिलो चरणमा मौका परीक्षालाई प्रदेशमा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।यसपटक काठमाडौंमा सञ्चालन हुने भनिएको तीन वर्षे स्नातक तहको मौका परीक्षा अब प्रदेशमै दिन सकिनेछ । विश्वविद्यालयले जारी गरेको सूचनाअनुसार उक्त परीक्षा २०८२ साल माघ २५ गतेदेखि सम्बन्धित प्रदेश अन्तर्गतका क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन हुनेछ । प्रत्येक प्रदेशमा न्यूनतम एक परीक्षा केन्द्र रहने व्यवस्था गरिएको छ ।
‘काठमाडौंमा परीक्षा दिन आउँदा परीक्षार्थीहरूलाई पर्ने असुविधा र आर्थिक भारलाई ध्यानमा राख्दै पूर्ववत् सूचनाअनुसार सञ्चालन हुने भनिएको परीक्षा अब क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयअन्तर्गत सञ्चालन गरिने निर्णय गरिएको हो,’ विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।यस निर्णयअनुसार मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, व्यवस्थापन सङ्काय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूले आंशिक वा मौका परीक्षा आफ्नै प्रदेशबाट दिन पाउने छन् ।परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले परीक्षा प्रणालीलाई क्रमशः विकेन्द्रित र सूचना प्रविधिमा आधारित बनाउँदै लैजाने लक्ष्य रहेको बताए । ‘परीक्षालाई विकेन्द्रित गर्दै लैजान यो निर्णय गरिएको हो । तीन वर्षे स्नातक तहजस्तै अन्य तहका परीक्षाहरू पनि यथासम्भव प्रदेशमै सञ्चालन गरिनेछ,’ उनले जानकारी दिए ।
विद्यार्थी संगठनले भने यस निर्णयलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका छन् । त्रिवि स्ववियु सभापति दीपकराज जोशीले विद्यार्थीहरूसँग भएको सहमतिअनुसार परीक्षा प्रणाली सुधारमा ढिलाइ भएको टिप्पणी गरे । उनका अनुसार परीक्षा प्रणालीलाई विद्यार्थीमैत्री बनाउन अझै ठोस सुधार आवश्यक छ ।वर्षौंदेखि काठमाडौं केन्द्रित परीक्षा प्रणालीका कारण देशका विभिन्न जिल्लाबाट आउने विद्यार्थीहरूले बसोबास, यात्रा र अन्य खर्चमा ठूलो आर्थिक भार बेहोर्दै आएका थिए । परीक्षा प्रदेशमै सञ्चालन भएपछि विद्यार्थीको समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ ।त्रिविले यो निर्णयलाई परीक्षा प्रणाली सुधारतर्फको प्रारम्भिक कदमका रूपमा प्रस्तुत गरेको छ । आगामी दिनमा डिजिटल प्रणाली, अनलाइन आवेदन तथा नतिजा प्रकाशनलाई समेत सुदृढ बनाउने योजना विश्वविद्यालयको रहेको जनाइएको छ ।