चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ युवा र प्रवासी नेपालीलाई प्राथमिकता दिने निर्णय गरेको छ। पार्टीले २७ प्रतिशत स्थान जेनजी लाई र १० प्रतिशत विदेशबाट फर्किएका नेपालीलाई उम्मेदवार बनाउन सुनिश्चित गरेको छ।
सौराहामा सम्पन्न पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले समानुपातिक सांसदका लागि उम्मेदवारी दर्ता आह्वान गर्दै छनोट प्रक्रियाको विस्तृत योजना पनि जारी गरेको छ। यसमा जेनजीको प्रतिनिधित्व र प्रवासबाट फर्किएका नेपालीलाई उम्मेदवारमा समावेश गर्ने कुरालाई मुख्य रूपमा जोड दिइएको छ।
रास्वपाबाट समानुपातिक सांसद उम्मेदवार बन्नका लागि यस्ता मापदण्ड छन् :
१. उम्मेदवारीका लागि योग्यता : उम्मेदवारले सार्वजनिक पदको दुरुपयोग नगरेको, शैक्षिक प्रमाणपत्र सही भएको, वैवाहिक स्थिति स्पष्ट भएको, कुनै पनि घृणात्मक अभिव्यक्ति वा दुव्र्यवहार नगरेको तथा परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्ने स्थिर आम्दानी स्रोत भएको स्वघोषणा अनिवार्य रूपमा गर्नुपर्नेछ। यी सबै कुरा अनलाइन वा सार्वजनिक रूपमा प्रमाणित हुनुपर्नेछ।
२. छनोट प्रक्रिया : उम्मेदवार छनोटमा ५० प्रतिशत भार प्रारम्भिक निर्वाचनले बोक्नेछ। यसमा मतदाता सूची, मतदान, गणना र नतिजा प्रकाशन जस्ता सबै पक्षलाई पारदर्शी र निष्पक्ष बनाउन पार्टीले अडिट समिति गठन गर्नेछ, जसले तथ्यमा आधारित मूल्यांकन गर्नेछ।
३. बन्दसूची निर्माण : पार्टीले परम्परागत बन्दसूची प्रणालीलाई अझ वैज्ञानिक र वस्तुनिष्ठ बनाएको छ। संविधानअनुसार जातीय क्लस्टर मात्र होइन, क्लस्टरमा आधारित जनसांख्यिक तथा प्रादेशिक अनुपात र २०७९ को निर्वाचनमा पार्टीले पाएको समानुपातिक मतको प्रादेशिक अनुपातलाई आधार मानेर ११० उम्मेदवारको सूची तयार पारिएको छ। यसले प्रदेशको प्रतिनिधित्व र जनसांख्यिक सन्तुलन दुवैलाई ध्यान दिएको छ।
४. युवा र प्रवासीको स्थान : जेनजीको ऊर्जा र विचारलाई प्रतिबिम्बित गर्दै २५–४० वर्षका युवालाई जनसांख्यिक अनुपातअनुसार २७ प्रतिशत आरक्षण दिइएको छ। साथै, विदेशबाट फर्किएका नेपालीलाई उम्मेदवारीका लागि १० प्रतिशत स्थान सुरक्षित गरिएको छ।
५. पुराना सांसदको सीमा : २०७९ को निर्वाचनमा समानुपातिकबाट सांसद बनेका पार्टी सदस्यहरूलाई २०८२ फागुन २१ को निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारी दिन प्रतिबन्ध लगाइएको छ।