काठमाण्डौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रमा कुनै पनि प्रकारको आक्रमण नहुने सुनिश्चित गर्न मन्त्रिपरिषद्बाट सार्वजनिक महत्वको प्रस्ताव पारित गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हा सहभागी थिए।
अध्यक्ष ढकालले आगजनी, लुटपाट र तोडफोडमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र दण्डहीनता रोक्नुपर्नेमा जोड दिए। उनले निजी क्षेत्रको योगदान, आर्थिक पुनर्निर्माण योजना र सुशासन कायम गर्न सरकारसँग सहकार्य आवश्यक रहेको बताए।प्रधानमन्त्री कार्कीले व्यवसायीहरूलाई डर छोडेर आत्मविश्वाससाथ काम गर्न आह्वान गर्दै आर्थिक वृद्धिदर र महँगी घट्ने संकेतले प्रयास सही दिशामा रहेको बताइन्। अर्थमन्त्री खनालले रोजगारी सिर्जना र व्यवसाय सहज बनाउन सरकारले नीतिगत र प्रशासनिक उपायहरू अघि बढाएको जानकारी दिए।गृहमन्त्री अर्यालले लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्दै व्यवसायी डर नमान्ने वातावरण बनाइने बताए भने कानुनमन्त्री सिन्हाले नीतिगत सुधारमार्फत निजी क्षेत्रलाई सहयोग गरिने उल्लेख गरे। राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले निजी क्षेत्रका माग सम्बोधन भइरहेको र ऋण प्रवाह सुधारका उपाय भइरहेको जानकारी दिए।
कार्यक्रममा उद्योगी–व्यवसायीहरूले शान्ति, सुरक्षा र स्थायित्व आवश्यक भएको जोड दिए। महासंघले निरन्तर संवादमार्फत सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउन आवश्यक रहेको बताएको छ।