मधेश प्रदेशमा कांग्रेस–एमाले गठबन्धनलाई पन्छाउँदै साना दलको सहयोगमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्रप्रसाद सोनार (सोनल) नेतृत्वको सरकार २५ दिनमै ढलेको छ । सदनमा विश्वासको मत पाउने सम्भावना कमजोर देखिएपछि शनिबार उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।
१०७ सदस्यीय प्रदेश सभामा जसपा, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका ५७ सांसदले प्रारम्भमा समर्थन जनाएका थिए । तर, माओवादीभित्रको आन्तरिक विवाद, जनमत विभाजन र नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारीको अनुपस्थितिका कारण बहुमत जुट्न सकेन ।सोनल सरकार गठन भएदेखि नै संकटमा थियो । जसपा नेपालका सांसद सरोजसिंह कुसवाह भ्रष्टाचार मुद्दामा निलम्बित हुँदा पनि सरकारको पक्ष कमजोर बन्यो । अन्ततः शनिबार सदनमा विश्वासको मत लिन जानुअघि नै मुख्यमन्त्री सोनलले राजीनामा दिएका हुन् ।
अब कांग्रेस–एमाले गठबन्धन नयाँ सरकार गठनको तयारीमा लागेको छ। एमाले संसदीय दलका नेता सरोजकुमार यादव र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखबाट आह्वान आएपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन्।