काठमाडौं, कात्तिक २४। कान्तिपुर फिल्म एकेडेमीले नयाँ नाटक ‘महारानीको जात्रा’ मञ्चन गर्न लागेको छ। निर्देशक दिपल बरालको परिकल्पना र निर्देशनमा तयार भएको यो नाटक कान्तिपुर थिएटर, गैरीधारामा कात्तिक २४ गते (नोभेम्बर १०) देखि प्रदर्शन हुने भएको हो। नाटक हरेक साँझ ५ बजे मञ्चन गरिनेछ।
यस नाटकमा उषा राजक, राज न्यौपाने, सुहाना आचार्यलगायत कलाकारको अभिनय रहनेछ। नाटकले परम्परागत सामाजिक संरचना र सत्ताको प्रदर्शनात्मक स्वरूपलाई केन्द्रमा राख्दै समाजभित्रको श्रेणीभेद र शक्ति प्रदर्शनको नाटकियतालाई उजागर गरेको छ।
‘महारानीको जात्रा’ले बाह्य चमक, सामाजिक छवि र सत्ताको लोभले कसरी सत्य र मानवीय मूल्यलाई ओझेलमा पार्छ भन्ने विषय प्रस्तुत गरेको छ। नाटककी मुख्य पात्र ‘महारानी’को कथामार्फत नेपाली समाजमा देखिने सतही मूल्य, मिडियाको प्रभाव र खोक्रो वैभवप्रति व्यंग्य गरिएको छ।
महारानीले सुरु गरेको ‘सादगी (Minimalism)’को चाहना र पुराना वस्तु त्याग्ने अभियानले परम्परा र आधुनिकताको द्वन्द्वबीच सन्तुलन खोज्ने नेपाली समाजको प्रयासलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको निर्देशक बरालले बताए।
उनका अनुसार, “यो नाटकले नेपाली समाजलाई सतही चमक–दमक र सत्ताको दिखावटीपनभन्दा माथि उठेर सत्य र मानव मूल्यप्रतिको चेतना जागृत गर्न प्रेरित गर्छ। नाटकले प्रश्न गर्छ— के हामी अधिकारको चमकमा हराइरहेका छौं, वा साँचो मानवताको खोजीमा छौं?”
कान्तिपुर थिएटरले यसअघि ‘मीरा’ र ‘शिरीषको फूल’ मञ्चन गरिसकेको छ। ‘महारानीको जात्रा’ उक्त थिएटरको तेस्रो प्रस्तुति हो, जसले नेपाली समाजको साँस्कृतिक रूपान्तरण र चेतनाको यात्रालाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ।