भूकम्प प्रतिरोधी क्षमतासहित दुईतले संरचनामा निर्माण गरिएको भवनका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले २०८१ साल असारमा तीन करोड ५१ लाख ७२९ रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। निर्माण कार्य निर्धारित समयभित्रै सम्पन्न भएको र चाँडै नै उद्घाटन गरी प्रयोगमा ल्याउने तयारी भइरहेको इन्जिनियर प्रहरी नायब उपरीक्षक चिरञ्जीवीप्रताप महतोले जानकारी दिएका छन्।
नवनिर्मित भवनमा प्रशासन शाखा, महिला तथा पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, ब्यारेक तथा शयनकक्षलगायत आवश्यक संरचनाहरू समावेश गरिएका छन्। यसअघि स्थापना कालदेखि नै सिङ्गा तातोपानी प्रहरी चौकी भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो।
अब आफ्नै भवनबाट सेवा प्रवाह गर्न पाउँदा नागरिकलाई सहज हुने र प्रहरी कार्यसम्पादन थप प्रभावकारी हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताएका छन्।
उक्त भवन निर्माणका लागि आवश्यक जग्गा सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले करिब १५ वर्षअघि खरिद गरी प्रहरीलाई उपलब्ध गराएको थियो। तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीबाट संकलित प्रवेश शुल्कको रकमबाट उक्त जग्गा खरिद गरिएको जनाइएको छ।
यसअघि म्याग्दी जिल्लामा जिल्ला प्रहरी कार्यालय, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीका आफ्नै भवन रहेका छन् भने दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना, घार, पाखापानी र राखु भगवती प्रहरी चौकी अझै पनि आफ्नै भवनविहीन छन्।
जग्गा प्राप्ति नै प्रहरी चौकी भवन निर्माणको मुख्य चुनौतीका रूपमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।