• Thursday, March 5, 2026

सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा लगानीमैत्री वृद्धि र मानव विकासलाई प्राथमिकता


धनगढी। सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा लगानीमैत्री आर्थिक वृद्धि, वित्तीय सुदृढीकरण तथा मानव विकासलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

प्रदेश सरकारले तयार पारेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि आज धनगढीमा आयोजित छलफल कार्यक्रममा सहभागीहरूले शिक्षा सुधार, सीप विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धन, स्वास्थ्य सेवाको पहुँच विस्तार र समग्र मानव विकासलाई योजनाको प्रमुख अङ्गका रूपमा समेट्न सुझाव दिएका हुन्।

यस्तै, समावेशी सामाजिक विकास, सामाजिक न्याय तथा महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएका समुदायको सशक्तीकरणलाई पनि योजनामा प्राथमिकतासाथ समावेश गर्नुपर्नेमा सहभागीको धारणा थियो।

छलफलमा सुशासन, पारदर्शिता र संस्थागत क्षमता विकासलाई मजबुत बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक रहेको औँल्याइएको थियो। साथै कृषि, पशुपालन तथा ग्रामीण अर्थतन्त्रको रूपान्तरण, उद्योग तथा उद्यमशीलता प्रवर्द्धनमार्फत रोजगारी सिर्जना, पर्यटन विकास र प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्नुपर्ने विषयमा पनि विशेष जोड दिइयो।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष तथा मुख्यमन्त्री कमलबहादुर शाहले दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेर योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रदेशको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, दिगो नीति र परिणाममुखी कार्यक्रम अपरिहार्य रहेको बताए।

प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा. जीवन रानाले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा, पृष्ठभूमि, आवश्यकता र प्राथमिकताबारे जानकारी गराउँदै प्रदेशको सामाजिक, आर्थिक र भौगोलिक विशेषतालाई ध्यानमा राखेर योजना तयार गरिएको उल्लेख गरिन्। योजनाले प्रदेशको विकास यात्रालाई व्यवस्थित, समावेशी र दिगो बनाउने लक्ष्य लिएको उनको भनाइ थियो।

पञ्चवर्षीय योजनाको मस्यौदा निर्माण टोलीका संयोजक डा. हेमराज लामिछानेले योजनाको अवधारणापत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव, नीति निर्माता, विज्ञ तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

Please Login to comment in the post!

you may also like