• Wednesday, March 4, 2026

निगमको घाटा २० अर्ब नाघ्ने, पहुँचमा भर्तीका १०७८ कर्मचारी हटाउने निर्देशन



काठमाडौं, मंसिर १८ – सञ्चित नोक्सानी २० अर्ब नाघ्ने र ५२ अर्ब ऋणको भारीले थलिएको नेपाल वायुसेवा निगममा राजनीतिक पहुँचमा भर्ना भएका एक हजारभन्दा बढी कर्मचारी हटाउने भएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार निगम सञ्चालक समिति र व्यवस्थापकहरूलाई सिंहदरबार बोलाएर यस्ता अनावश्यक भर्ती हटाउन कठोर निर्देशन दिइन्।

‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, ०८२’ अनुसार निगममा ५३९ अस्थायी, २७३ करार र २६६ ज्यालादारी गरी कुल १०७८ कर्मचारी पहुँचका भरमा कार्यरत छन्। हाल दुई हजार चार कर्मचारी रहेकामा ९२६ मात्र स्थायी छन्। यस्ता भर्तीले निगमको आर्थिक बोझ बढाएको छ भने कर्मचारी तलब तथा सुविधामा मात्रै वार्षिक सवा अर्ब खर्च हुने गरेको छ। महालेखापरीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७९/८० मा यसमा एक अर्ब २३ करोड ४९ लाख खर्च भएको थियो। ०८०/८१ को प्रतिवेदन भने निगमले बुझाएको छैन।

पूर्वअध्यक्षको अवकाशअघिको ‘मनपरी भर्ती’ मा प्रधानमन्त्रीको ‘एक्सन’

एक साताअघि मात्र बिदा भएका पूर्वअध्यक्ष युवराज अधिकारीले अवकाशको मुखमा थप कर्मचारी भर्ना गरेपछि प्रधानमन्त्री कार्कीले कडा कदम चालेकी हुन्। कार्कीकै सरकार बनेपछि भएको यो भर्तीलाई लक्षित गर्दै उनले सिंहदरबारको बैठकमा भनिन्, “जेन–जीले यत्रो रगत बगाएको केका लागि हो? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो?”

निगमलाई ‘धनाढ्यको बिग्रेको घर’ सँग तुलना गर्दै प्रधानमन्त्रीले भनिन्, “अहिले निगमको नियति र धनाढ्यको बिग्रेको घर उस्तै–उस्तै छ। हेर्दा सबैथोक छ, तर भित्र दर्दनाक अवस्था छ। नाफा वा घाटा केही नभएर चलेको मात्र भए पनि पर्याप्त रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो, त्यो पनि छैन।”

बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेती र कार्यवाहक अध्यक्ष विक्रम राई पनि सहभागी थिए। कालाखेतीले भने, “कस्ता कर्मचारी आवश्यक छन्, कस्ता अनावश्यक छन् भनेर अध्ययन गर्छौं। सबै करारका कर्मचारी आवश्यक छैनन् भन्न मिल्दैन। तर, मुख्य चासो प्रक्रिया पूरा नगरी तोक आदेशबाट नियुक्त भएकामा केन्द्रित छ। त्यसरी नियुक्ति गरिएका कर्मचारी हटाउने प्रक्रिया अघि बढ्छ। केही प्राविधिक कर्मचारी करारमा राख्नुपर्ने बाध्यता छ।”राईले भने, “निगममा बोल्ड निर्णय गर्नुपर्ने आवश्यकता छ। धेरै नै अप्रिय निर्णय गर्न पनि म तयार छु। यसका लागि सरकारको साथको अपेक्षा गरेको छु।” प्रधानमन्त्री कार्कीले जवाफमा भनिन्, “संस्था सुधारका लागि तपाईंहरू लाग्नुस्, सरकार दाहिने हातमा छ।”

घाटा र ऋणको भारी : आय घट्दै, नोक्सानी बढ्दै

निगमको आर्थिक अवस्था चिन्ताजनक छ। अहिले १७ अर्बभन्दा बढी सञ्चित नोक्सानी छ भने जहाज किन्दाको ३४ अर्ब ऋण ५२ अर्ब पुगेको छ। ०७८/७९ मा १६ अर्ब ८९ करोड आय भएको निगमको आम्दानी ०७९/८० मा बढेर २३ अर्ब ८६ करोड पुग्यो। तर, ०८०/८१ मा २१ अर्ब पाँच करोड र ०८१/८२ मा घटेर २० अर्ब ६७ करोडमा सीमित भएको छ।

उडान सञ्चालनबाट ०७९/८० मा १८ अर्ब ६३ करोड आय भएकोमा ०८०/८१ मा १५ अर्ब ३५ करोड र ०८१/८२ मा १५ अर्ब १७ करोड अनुमान छ। ग्राउन्ड ह्यान्डलिङबाट पाँच अर्ब २२ करोड आम्दानी भएको छ। लगातार घाटाले सञ्चित नोक्सानी ०७८/७९ को १५ अर्ब १८ करोडबाट ०७९/८० मा १५ अर्ब ५९ करोड, ०८०/८१ मा १७ अर्ब ४६ करोड पुगेको छ। ०८१/८२ मा २० अर्ब नाघ्ने अनुमान छ।निगमले जहाज खरिद ऋणको आठ अर्ब ४५ करोड किस्ता भुक्तानी गरेको छ। कालाखेतीले भने, “हामी कसरी हुन्छ नोक्सानी व्यवस्थापन गर्दै अघि बढ्ने योजनामा छौं।”

Please Login to comment in the post!

you may also like