भन्सार कार्यालयको तथ्यांकअनुसार सो अवधिमा करिब आठ लाख ४१ हजार ३३८ केजी जडीबुटी निर्यात भई कुल कारोबार रु २५ करोड २६ हजार पुगेको हो। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १० करोडभन्दा बढीले वृद्धि भएको हो। अघिल्लो वर्ष यही अवधिमा नेपालगञ्ज नाकाबाट रु १४ करोड ६२ लाख ७९ हजार बराबरको जडीबुटी मात्र निर्यात भएको थियो।
नेपालगञ्ज नाकाबाट मुख्य रूपमा टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी, अमला लगायतका जडीबुटी भारतलगायत मुलुकमा निर्यात हुँदै आएका छन्। नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघका अध्यक्ष टंक शर्माका अनुसार कुल निर्यातमध्ये करिब ८५ प्रतिशत जडीबुटी भारततर्फ जाने गरेको छ। पछिल्ला केही वर्षदेखि जडीबुटीको माग बढ्दै गएसँगै निर्यात पनि पुनः लयमा फर्किएको उनको भनाइ छ।
तर व्यवसायीहरूले अझै पनि संरचनागत समस्याका कारण निर्यात प्रक्रिया सहज नभएको गुनासो गरेका छन्। हिमाली तथा दुर्गम जिल्लामा संकलन गरिएका जडीबुटी निर्यात गर्न इजाजत र छुट पुर्जी लिन सदरमुकाम धाउनुपर्ने झन्झट, साना व्यवसायीका लागि ढुवानी तथा ओसारपसारको कठिनाइ, र पहिचान भइसकेका धेरै जडीबुटी प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नहुँदा विदेश निर्यातमा समस्या भइरहेको शर्माले बताए।
व्यवसायीहरूका अनुसार यी झन्झट हटाएर प्रक्रिया सरल बनाइएमा जडीबुटी निर्यात अझै वृद्धि भई मुलुकको वैदेशिक आम्दानीमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।