काठमाडौं, जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी काठमाडौं अनिश्चितकालका लागि बन्द गरिएको छ।
होटलका अनुसार भदौ २३ र २४ गतेका दिन आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र आगजनीका घटना हुँदा होटलको संरचना, उपकरण तथा सुरक्षासम्बन्धी क्षेत्रमा ठूलो क्षति पुगेको हो। यसपछि होटलले मर्मत र पुनर्निर्माणका काम तुरुन्त सुरु गर्नुपर्ने बाध्यता रहेको जनाएको छ।
होटलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मर्मत र पुनर्निर्माणका जोखिम तथा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै होटलबाट प्रवाह हुँदै आएको सम्पूर्ण व्यवसायिक सेवा तत्काल प्रभावले बन्द गरिएको छ।”
त्यसका साथै होटलमा कार्यरत श्रमिकहरूलाई अर्को सूचना नआएसम्म वा अन्य निर्णय नहुँदासम्म होटल परिसरमा उपस्थित नहुन अनुरोध गरिएको छ। होटलले ट्रेड युनियनसँग छलफल गरी श्रमिकहरूको सुरक्षालाई प्राथमिकता दिने निर्णय गरेको पनि जनाएको छ।
होटलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनका अनुसार मर्मत र पुनर्निर्माण कार्य सम्पन्न भएपछि मात्र होटल पुनः सञ्चालनमा ल्याइनेछ।
हायात रिजेन्सी काठमाडौं देशकै प्रतिष्ठित पाँचतारे होटलमध्ये एक हो, जहाँ देशी–विदेशी पर्यटक, सरकारी पाहुना तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू नियमित रूपमा आयोजना हुँदै आएका छन्।