• Tuesday, March 3, 2026

महन्थ ठाकुरको राजनीतिक चाल: राष्ट्रिय सभा र प्रतिनिधिसभामा एउटै परिवार


माघ ११ गतेको राष्ट्रिय सभा सदस्य उम्मेदवारीमा बुवा र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा छोरी उम्मेदवार हुनु नेपाली राजनीतिमा चासोको विषय बनेको छ। यो प्रसंग राष्ट्रिय नेताका रूपमा चिनिएका महन्थ ठाकुरसँग जोडिएको छ। ८४ वर्षीय ठाकुर मधेश प्रदेशबाट राष्ट्रिय सभाको उम्मेदवार बनेका छन् भने उनकी छोरी डा. मिनांक्षी ठाकुर झा महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी छन्। मधेशी जनताको एक हिस्साले महन्थ ठाकुरलाई शक्ति र सत्तामुखी राजनीतिका प्रतीकका रूपमा हेर्दै आएको सन्दर्भमा यो घटनाक्रमले थप बहस जन्माएको छ।

वि.सं. २०४८ सालदेखि निरन्तर सत्ताको स्वाद चाख्दै आएका महन्थ ठाकुर दुई पटक सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित भएपछि राजनीतिमा नयाँ क्षेत्र खोज्दै महोत्तरी झरेका थिए। संयोगवश सोही क्षेत्रमा हाल गगन थापा विजयी भएका थिए। संविधान निर्माणको समय मधेशी असन्तुष्टिलाई राजनीतिक रूपमा उपयोग गर्दै उनले सांसद पद सुरक्षित गरेको आरोप पनि लाग्दै आएको छ। महोत्तरी झरेपछि मतदाताको मत किनबेच भएको गम्भीर आरोप उनीमाथि लाग्यो। पैसाको चलखेलका कारण २०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट उनी विजयी भएको आरोप व्यापक रूपमा उठ्यो। त्यतिबेला आफूले यो अन्तिम चुनाव लडिरहेको भन्दै मतदातासँग भावनात्मक अपिल गरेको, तर त्यसलाई पनि राजनीतिक स्वार्थका लागि प्रयोग गरेको टिप्पणीहरू सुनिन्थे।

यसैबीच, पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमै देखिन थालेको छ। मटिहानी नगरपालिका प्रमुख हरि मण्डलका अनुसार उम्मेदवारी चयन प्रक्रियामा स्थानीय तह र जिल्लाका नेताहरूलाई समेटेर छलफल नै गरिएन। उनले भनेका छन्, “उहाँको उम्मेदवारीबारे हामीले उम्मेदवारी छनोट भएपछि मात्र थाहा पायौं। यस्तो महत्वपूर्ण विषयमा जिल्लाका साथीहरूसँग व्यापक छलफल, समन्वय र राय सुझाव संकलन गर्नुपर्थ्यो, तर त्यो भएन।” यसले पार्टीभित्र निर्णय प्रक्रिया सीमित व्यक्तिमा केन्द्रित भएको संकेत गर्छ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा महन्थ ठाकुरको पार्टी पनि सहभागी थियो। आन्दोलनको दबाबपछि ओली सरकारसँगै महन्थ ठाकुर र उनको पार्टी पनि राजनीतिक रूपमा पछाडि धकेलिएको विश्लेषण गरिन्छ। त्यही सरकारमा श्रममन्त्री रहेका शरदसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने गरिब मधेशी युवायुवतीका लागि अनिवार्य स्वास्थ्य परीक्षण शुल्क तीन हजारबाट बढाएर नौ हजार रुपैयाँ पुर्‍याएको विषय पनि विवादित बन्यो। यस प्रकरणमा करोडौं रुपैयाँको चलखेल भएको आरोप लाग्दा मन्त्री भण्डारीसँगै महन्थ ठाकुरको नाम पनि जोडियो, जसले उनको राजनीतिक छविमा थप प्रश्न उठाएको छ।

आसन्न निर्वाचनमा महन्थ ठाकुर प्रत्यक्षतर्फ नउठ्ने भनिएपछि लामो समयदेखि पालो कुर्दै बसेका पार्टीका नेता–कार्यकर्ता आशावादी थिए। तर माघ ६ गते सम्पन्न मनोनयन दर्तासँगै ती आशा निराशामा बदलिएका छन्। यही असन्तुष्टिको बीच महन्थ ठाकुरले आफ्नी छोरी मिनांक्षी ठाकुर झालाई महोत्तरी–३ बाट उम्मेदवार बनाएपछि ‘रूपान्तरण होइन, पुस्तान्तरण गरिएको’ भन्ने आलोचना पार्टीभित्रैबाट सुनिन थालेको छ।

यस विषयमा पुनः प्रतिक्रिया दिँदै मटिहानी नगरपालिका प्रमुख हरि मण्डलले चुनावपछि समीक्षा हुने बताए। उनले भने, “चुनावको परिणामपछि समीक्षा त होला नै।” यद्यपि उनले आफ्नो पार्टीका उम्मेदवार जित्ने दाबी गर्न भने छाडेनन्। समग्रमा, महन्थ ठाकुरको पछिल्लो राजनीतिक कदमले मधेशी राजनीतिमा नेतृत्व हस्तान्तरण, पारदर्शिता र आन्तरिक लोकतन्त्रको विषयलाई फेरि एकपटक बहसको केन्द्रमा ल्याएको छ।

Please Login to comment in the post!

you may also like