• Tuesday, March 3, 2026

भृकुटीमण्डपमा वाम एकता : नेताको भीड, तर उत्साहको कमी


काठमाडौंको भृकुटीमण्डपमा बुधबार सम्पन्न नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणासभामा कार्यकर्ताको भिड त बाक्लो देखियो, तर उत्साह भने अपेक्षाकृत कम थियो। १० वटा वामपन्थी घटकहरूको एकताले नागरिक चासो त बढायो, तर जेन–जी आन्दोलनपछि नेतृत्व परिवर्तनको मुद्दा उठिरहेको बेला तिनै पुराना नेताहरूको पुनः गठजोडका कारण जनउत्साह घटेको चर्चा चल्यो।२०७५ सालमा एकताबद्ध भएर बनेको नेकपा विभाजनपछि २०७८ सालमा अलगिएका प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठहरू फेरि एउटै मञ्चमा देखिए। तर, यो एकता प्रक्रियाले नयाँ ऊर्जा भन्दा पनि पुरानै नेतृत्वको पुनरागमन झल्काएको टिप्पणी गरिएको छ।

एकतामा झलनाथ खनालको उपस्थितिले सबैलाई आश्चर्यचकित बनायो। उनी एकीकृत समाजवादीका केन्द्रीय कमिटीमा एकताको विपक्षमा उभिएका थिए र एमालेसँग सहकार्य गर्नुपर्ने तर्क गरेका थिए। माधव नेपालको दबाबमा एकता निर्णय पारित भए पनि खनाल अन्तिम समयमा एमाले अध्यक्ष केपी ओलीसँग संवादमै थिए। तर, प्रचण्डले निवासमै भेटेर नयाँ पार्टीमा तेस्रो वरीयता दिने आश्वासन दिएपछि उनी भृकुटीमण्डपको सभामा सहभागी भए।खनालको उपस्थितिपछि पूर्व–एसका महासचिव घनश्याम भुसाल र माओवादीका जनार्दन शर्माको अनुपस्थिति पनि चर्चाको विषय बन्यो। कतिपय नेताहरूले ‘झलनाथ आउँदै गर्दा घनश्याम किन पर राखिए ?’ भन्ने प्रश्न उठाए। केहीले त भुसालको अवस्था वामदेव गौतमसरह एक्लोपनतिर धकेलिने चेतावनीसमेत दिए।यसैबीच, रामकुमारी झाँक्रीको नाम भने सभामा कतै सुनिएन। एमाले विभाजनको समयमा केन्द्रमा रहने झाँक्रीको मौनताले धेरैलाई आश्चर्यचकित बनायो।२०७५ सालमा बनेको नेकपाका नौ सचिवालय सदस्यमध्ये पाँच जना — प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ — पुनः एउटै पार्टीमा एकताबद्ध भएका छन्। सर्वोच्च अदालतको निर्णयपछि छुट्टिएका यी नेताहरू आज पुनः एउटै झण्डामुनि फर्किएका हुन्।

तर, माओवादी मूल पृष्ठभूमिका नेताहरूको प्रभाव घटेको देखियो। प्रचण्ड संयोजक भए पनि शीर्ष पाँच नेतृत्वमा बाँकी चारजना गैर–माओवादी छन्। यसले ‘माओवादी नेता हराएको दिन’ भन्ने टिप्पणी जन्माएको छ।सभामा बोल्दै प्रचण्डले जेन–जी आन्दोलनले सबै दल र नेताहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताए। उनले भदौ २३–२४ गतेको आन्दोलनपछि देश ‘राज्यविहीन’ बनेको भन्दै अब राष्ट्र बचाउने जिम्मा जनतामाथि र राजनीतिक दलहरूमाथि आएको बताए। उनले भने, “अब सबै कम्युनिस्टहरू एक भएर जनताको चाहना पूरा गर्छौं।”प्रचण्डले आफ्नो सम्बोधनमा झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने निर्णय ‘ज्यान जोखिम’मा गरेको दाबीसमेत गरे। उनले भने, “हामीलाई अहिले पनि हत्या हुन सक्छ भनेर धम्की दिइरहेका छन्, तर म मृत्युबाट डराउँदिन। राष्ट्र र लोकतन्त्र बचाउनु नै मेरो चिन्ता हो।”नेतृत्व हस्तान्तरणबारे पनि प्रचण्डले संकेत गरे। उनले भने, “अब हामी विधि बनाएर नेतृत्व हस्तान्तरणको प्रणाली विकास गर्छौं। कम्युनिस्ट पार्टीमा बुढा नहुँदासम्म र नमर्दासम्म नेतृत्व नछोड्ने परम्परा अन्त्य गर्नुपर्छ। अग्रज नेताको सम्मान गर्दै नयाँ पुस्तालाई अघि बढाउने विधि तयार पार्नेछौं।”सभामा उनले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफू र माधव नेपालले भूमिका खेलेको पनि स्मरण गरे। “हामीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सहयोग गर्‍यौं, तर अहिले उहाँले हाम्रै मुख हेर्न चाहन्न भन्नु दुःखद लाग्छ,” उनले भने।सहसंयोजक माधवकुमार नेपालले पनि जेन–जी पुस्तासँग हातेमालो गर्दै भ्रष्टाचार, अन्याय र सुशासनका मुद्दामा अगाडि बढ्ने प्रतिबद्धता जनाए। उनले भने, “अब हामी नयाँ पुस्तासँग मिलेर सुशासन र सामाजिक न्यायको अभियान अघि बढाउँछौं। जेन–जी आन्दोलनले उठाएका मागहरू हाम्रो पार्टीका पनि माग हुन्।”

सभामा उपस्थित नेताहरूले वाम एकतालाई ‘राष्ट्र बचाउने कदम’ भनेका छन्। तर राजनीतिक विश्लेषकहरू भन्छन्, नेताहरूको यो पुनर्मिलन जनभावनाभन्दा बढी सत्ताको गणितमा आधारित देखिन्छ। जेन–जी पुस्ताको आशा नयाँ नेतृत्व र सोचमा थियो, तर भृकुटीमण्डपमा फेरि पुरानै अनुहारहरूको भीड देखियो।

Please Login to comment in the post!

you may also like