काठमाडौं – हनुमानढोका दरबार क्षेत्रमा रहेको ऐतिहासिक तलेजु भवानीको मन्दिर आज महानवमीका दिन भक्तजनका लागि खुला गरिएको छ। वर्षमा एकपटक मात्र खुल्ने यो मन्दिरमा दर्शन र पूजाअर्चनाका लागि बिहानैदेखि भक्तजनको लामबद्ध भीड लागेको छ।नवरात्रको अन्तिम दिन अर्थात् महानवमीमा खुल्ने तलेजु भवानीको मन्दिर नेवार समुदायले इष्टदेवताको रूपमा पुज्ने गर्छन्।
दैवीशक्ति र मातृशक्तिको प्रतीक मानिने तलेजु भवानीलाई ‘तुलजा’ पनि भनिन्छ। फूलपातीको दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको तलेजु भवानीलाई विजयादशमीको बिहान मूल मन्दिरमा फर्काइने परम्परा छ।महाअष्टमीको राति मूलचोकमा तान्त्रिक विधिअनुसार कालरात्रि पूजा सम्पन्न गरिएको छ। यो पूजामा ५४ बोका र ५४ राँगाको बलि दिइएको थियो। राज्य सञ्चालनमा शक्ति प्राप्तिको संकल्पले यो पूजा गर्ने प्रचलन रहेको बताइन्छ।महानवमीको दिन दशैंघर, कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा–आराधना गरिएको छ। साथै, दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत र देवी स्तोत्रको पाठ पनि गरिएको छ।हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनले भने, “भक्तजनको सुविधा र सुरक्षालाई ध्यानमा राखी मन्दिर खुला गरिएको छ।”यसअघि २०७७ सालमा कोरोना महामारीका कारण मन्दिर खुला गरिएको थिएन। तर, २०७८ सालमा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेकाले संक्रमणको जोखिम कम भएको भन्दै मन्दिर खुला गरिएको थियो।
तलेजु भवानीको मन्दिरमा दर्शन गर्न आउने भक्तजनको उत्साह र भीडले यो दिनको विशेष धार्मिक र सांस्कृतिक महत्त्व झल्किन्छ।