काठमाडौँ – जर्मनीको बर्लिनमा आयोजना हुने वर्ल्ड हेल्थ समिट मा सहभागी हुन जान लागेकी नेपाली युवा प्रतिनिधि सम्भवी अधिकारी लाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल मा ८ घण्टासम्म हिरासतमा राखेर अपमानित गरिएको घटना सार्वजनिक भएको छ। पूर्ण कागजात, भिसा, प्रायोजन पत्र, दुवैतर्फको टिकट र आवास विवरणसहित तयार भएकी सम्भवीलाई नेपाली राहदानी बोकेकै कारण शङ्का गरी रोक्नुका साथै बोर्डिङ पास उनकै सामुन्ने च्यातेर फालिएको थियो।
सम्भवी एयर इन्डिया बाट काठमाडौँ–दिल्ली उत्रिएर कतार एयरवेज को कनेक्टिङ उडान चढ्न लागेकी थिइन्। तर एयरपोर्ट अधिकारीहरूले उनलाई ‘कसले निम्तो दियो? नेपाली भएर किन सम्मेलनमा जाने? पैसा छ कि छैन?’ जस्ता प्रश्न सोधे। सबै प्रमाण देखाउँदा पनि सन्तुष्ट नभएपछि फोनबाटै एक अज्ञात व्यक्तिले उनलाई झूटो बोलिरहेको जिकिर गरे। अन्तमा बस्ने अवधि शङ्कास्पद भन्दै बोर्डिङ पास च्यातियो र ८ घण्टा हिरासतमा राखियो – राहदानी र सामानबिनै, खाना–इन्टरनेट–शौचालयको सुविधाबिना। स्वतन्त्र हिँडडुल गर्न पनि रोकियो।
रात बितेपछि नेपाल एयरलाइन्स कर्पोरेसनको हस्तक्षेप मा सम्भवीलाई घर फर्काइयो। भोलिपल्ट कतार एयरवेज बाट दोहा हुँदै उनी बर्लिन पुगिन्। सामाजिक सञ्जालमा उनले लेखिन् :
“समस्या मेरो कागजातमा थिएन। समस्या मेरो राहदानीमा थियो। नेपाली पासपोर्ट बोकेकाले ममाथि शङ्का गरियो।”
भारत सरकारको स्पष्टीकरण
भारतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय अध्यागमनको कुनै भूमिका नरहेको दाबी गर्दै यो एयरलाइन्स (कतार एयरवेज) को निर्णय भएको उल्लेख छ। मन्त्रालयले भन्यो – “ट्रान्जिट यात्रुले भारतीय अध्यागमनसँग सम्पर्क गर्नु पर्दैन। यो एयरलाइन्स र यात्रुबीचको मामला हो।” साथै नेपाल–भारत सम्बन्धको कदर गर्दै कुनै पूर्वाग्रह नरहेको आश्वासन दिएको छ।
तर घटनाको विवरणले नेपाली पहिचानमाथिको अपमान र विकासशील देशका नागरिकप्रति दोस्रो दर्जाको व्यवहार उजागर गरेको छ। यो घटनाले #RespectNepaliPassport अभियानलाई बल दिएको छ।