• Tuesday, March 3, 2026

विगतका कमजोरी सच्याउँदै एकीकृत र सशक्त नेकपा निर्माणतर्फ नेतृत्वको प्रतिबद्धता


वीरेन्द्रनगरमा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरीबाट शिक्षा लिँदै एकीकृत र सशक्त पार्टी निर्माणतर्फ आफूहरू दृढतापूर्वक अघि बढेको बताएका छन्। उनले नेता–कार्यकर्ताको उत्साहजनक सहभागितासहित नेकपालाई देशकै एक नम्बर पार्टी बनाउने लक्ष्य लिइएको उल्लेख गर्दै कर्णालीले देखाएको आत्मीयता र समर्थनले आफूलाई थप उत्साहित बनाएको धारणा व्यक्त गरे।

संयोजक दाहालले १४ भन्दा बढी पार्टी एक ठाउँमा आएर विगतका त्रुटि सच्याउँदै अगाडि बढ्ने सङ्कल्प गरिएको जनाउँदै देशका विभिन्न स्थानमा सम्पन्न एकता सभामा देखिएको जनसहभागिताले यो अभियानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास जागेको बताए। विसं २०४१/४२ सालदेखि नै माधवकुमार नेपालसँग पार्टी एकताको विषयमा छलफल सुरु भएको स्मरण गर्दै उनले सशस्त्र द्वन्द्वका कठिन समयमा पनि निरन्तर संवाद जारी रहेको उल्लेख गरे। एमाले र माओवादीबीच सहमति बनेपछि मात्र १२ बुँदे समझदारी सम्भव भएको भन्दै उनले चार दशकदेखि एकताका प्रयासहरू हुँदै आएको स्पष्ट पारे।कर्णालीलाई नेपाली सभ्यताको जननी, जडीबुटी र जलस्रोतको भण्डारका रूपमा चित्रण गर्दै दाहालले यस क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, विदेशिएका युवालाई स्वदेश फर्कन प्रेरित गर्ने वातावरण निर्माणका लागि पार्टी सक्रिय रूपमा लागिरहेको उनले बताए।

त्यस अवसरमा पार्टीका सहसंयोजक माधवकुमार नेपालले विभिन्न धारका पार्टीलाई एकीकृत गरी राजनीतिमा महत्वपूर्ण काम गरिएको उल्लेख गर्दै यसले जनस्तरमा नयाँ उत्साह थपिएको बताए। उनले जनता र देशको हितलाई केन्द्रमा राखेर काम गर्ने जिम्मेवार पार्टीका रूपमा नेकपालाई स्थापित गरिने धारणा व्यक्त गरे। लोकतन्त्र र गणतन्त्रमार्फत जनतालाई देशको वास्तविक मालिक बनाउने लक्ष्यसहित देशको स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने देशभक्त पार्टीका रूपमा नेकपालाई उभ्याउन आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

Please Login to comment in the post!

you may also like