काठमाडौं – नेपालीहरूको दोस्रो ठूलो चाड तिहार, उज्यालोको पर्वका रूपमा आजदेखि विधिवत् सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चकको पहिलो दिन आज धनतेरस र यमदीपदान पर्वले रौनक थप्दैछ। यो पर्वले घरआँगनदेखि मनमस्तिष्कसम्म उज्यालो छर्ने विश्वास गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १:२३ बजेसम्म द्वादशी तिथि रहेकाले त्यसपछि त्रयोदशी तिथि लाग्नेछ, जुन धनत्रयोदशी र यमदीपदानको शुभारम्भ हो। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार सायंकालमा त्रयोदशी तिथि परेका दिन यमदीपदान र धनतेरस मनाउने शास्त्रीय मान्यता छ। यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा दक्षिण फर्काएर गरिन्छ, जसले यमयातनाबाट मुक्ति दिलाउने विश्वास छ।आइतबार काग तिहार मनाइँदैछ, जुन प्रातःकालमा त्रयोदशी तिथि परेका दिन पर्छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले सूर्योदयकालमा काग तिहार र सायंकालमा धनवन्तरी जयन्ती मनाउने शास्त्रीय विधि रहेको बताए। तिथिको घटबढले सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ। सोमबार बिहान अरुणोदयकालमा अपामार्गसहित नरक स्नान गरी बत्ती बालेर नदीमा बगाउँदा नरकको यातना नपाइने मान्यता छ।कात्तिक ३ गते सोमबार रातमा औँसी तिथि परेकाले लक्ष्मीपूजा गरिनेछ। समितिका अनुसार यो दिन धनकी देवी लक्ष्मीको पूजा–आराधनाले समृद्धि र सुख प्राप्त हुने विश्वास छ। कात्तिक ४ गते मङ्गलबार भने तिहारको मध्य समय भए पनि शास्त्रअनुसार कुनै विशेष कर्म परेको छैन।कात्तिक ५ गते बुधबार गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गरिनेछ। यसै दिन हलितिहार, बलीपूजा र नेपाल संवत् ११४६ को शुभारम्भ पनि हुँदैछ। शास्त्रअनुसार प्रतिपदाका दिन सूर्योदयकालमा यी कर्महरू सम्पन्न गर्नुपर्छ।तिहारको अन्तिम दिन कात्तिक ६ गते बिहीबार भाइटीका मनाइँदैछ। समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार बिहान ११:३९ बजे भाइटीकाको शुभ साइत छ। यो दिन दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्केर टीका लगाउने शास्त्रीय विधि छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन पनि शास्त्रसम्मत हुने पन्थीले बताए।तिहारको झिलीमिलीले काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरू उज्यालोमय बनेका छन्। आश्विन शुक्ल पूर्णिमादेखि नै दीपावलीको रौनक सुरु भएको छ। लक्ष्मीपूजाको दिन भैलो र गोवद्र्धन पूजाको दिन देउसी खेल्ने परम्पराले चाडलाई थप रमाइलो बनाउँछ।
कर्णाली र सुदूरपश्चिममा भने कोजाग्रत पूर्णिमादेखि नै देउसी–भैलोको रमझम सुरु हुन्छ।नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा तिहार मनाउन आह्वान गरेको छ। तिहारको उज्यालो र उत्सवले हरेक नेपालीको मनमा सुख, शान्ति र समृद्धिको कामना बोकेर आउने विश्वास गरिन्छ। यो पर्वले आपसी माया, सद्भाव र एकताको सन्देश फैलाउँदै समाजलाई उज्यालो बनाउने अपेक्षा गरिएको छ।तिहारको यो पाँचदिने उत्सवले नेपाली संस्कृतिको सुन्दर पक्षलाई उजागर गर्दै हरेक घरमा खुसी र उमङ्ग छर्ने छ। शुभ तिहार!