काठमाडौं, असोज १२ – जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकैको राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाटको महिना दिन पुग्दा पनि लुटिएको रकम र सुनको ठूलो हिस्सा बेपत्ता छ। आन्दोलन हिंसात्मक बन्दै आगजनी, तोडफोड र लुटपाटमा परिणत हुँदा लुटेराहरूको समूहले बैंक तोडफोड गर्दै करोडौंको सम्पत्ति लुटेका थिए। बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार यो शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ, जसमा १७ हजार ९४५ ग्राम सुन र ५ करोड १५ लाख नगद समावेश छ।लुटिएको सुन कसले कहाँ पुर्यायो भन्ने अझै खुलेको छैन। जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंले अनुसन्धान गरिरहेको छ। परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार घटनामा संलग्नताको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा सिरहाका नरेशकुमार यादव र दोलखाका दीपक श्रेष्ठ छन्। उनीहरूले २४ भदौको प्रदर्शनका क्रममा बैंक लुटपाट गरेको आरोप छ।
प्रहरीले उनीहरूमाथि चोरी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूबाट करिब ४ लाख रुपैयाँ र केही सुन बरामद भएको एसपी भट्टराईले बताए। कुल लुटिएको सुन र नगद साढे ३८ करोड पुग्ने अनुमान गरिए पनि बरामद भएको सामग्री भने ५–६ लाख बराबरको मात्रै छ। बाँकी रकम र सुन कहाँ गयो भन्ने अझै अज्ञात छ। पक्राउ परेकाहरूले बरामदबाहेक आफूहरूले अरू नलगेको दाबी गरेका छन् र अन्य व्यक्तिलाई नचिन्ने बताएका छन्।प्रहरीले म्यानुअल र प्राविधिक दुवै कोणबाट अनुसन्धान गरिरहेको छ। भिडिओ फुटेज, सार्वजनिक तस्बिर र सीसीटीभी फुटेजलाई आधार बनाइएको छ। लुटिएका सुन बैंकमा धितो राखेर कर्जा लिएका थिए, जसलाई किनबेच हुन सक्ने भन्दै प्रहरीले सुनचाँदी पसलहरूमा निगरानी बढाएको छ। बिलबिजकबिनाका सरसामान खरिद नगर्न पनि प्रहरीले आग्रह गरेको छ।बैंक लुटपाट भएको पाँच दिनपछि २९ भदौमा ललितपुरका सुरेश देउलाले जिल्ला प्रहरी परिसर जावलाखेलमा ५ लाख १० हजार ५ सय रुपैयाँ बुझाएका थिए। तत्कालीन एसएसपी श्यामकृष्ण अधिकारीको रोहबरमा बुझाइएको यो रकम नयाँ बानेश्वरकै बैंकको भएको उनले बताए।
प्रहरीको सोधपुछमा देउलाले भनेका छन्, 'बैंक लुटपाटको भिडिओ मोबाइलमा खिच्न थालेपछि लुटेराहरूले "तैले यही खोजेको होला" भन्दै पैसाको बिटो फालिदिएर गए।' लुटपाटमा संलग्नहरूबारे सोध्दा उनले कसैलाई नचिन्ने बताएका छन्।आन्दोलनका क्रममा राजधानीमा तोडफोड र लुटपाट बढेपछि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो। सो क्रममा सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले बानेश्वर बैंकमा लुटपाट गर्न खोजेको आरोपमा ५ जनालाई पक्राउ गरेको जनाएको थियो। 'हालको परिस्थितिको अनुचित फाइदा उठाएर' लुटपाटको प्रयास भएको सेनाको भनाइ थियो। तर प्रहरी स्रोतका अनुसार उनीहरूले वास्तविक लुटपाट गरेको प्रमाण फेला नपरेपछि मुद्दा चलेन। 'लुटपाट गर्न खोजेको मात्रै थियो, प्रमाण नभेटिएपछि छोडियो,' स्रोतले भन्यो।अनुसन्धान जारी रहे पनि ठूलो हिस्सा बेपत्ता हुँदा पीडितहरूको चिन्ता बढेको छ। प्रहरीले थपिक अनुसन्धानबाट थप पत्ता लाग्ने अपेक्षा गरेको छ।