• Thursday, March 5, 2026

शान्तिपूर्ण निर्वाचनका लागि दलहरूसँग संवाद बढाउन सरकारलाई नेकपाको आग्रह


काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताको तहसम्म राजनीतिक दलहरूसँग संवाद विस्तार गर्दै शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता वर्षमान पुनले सरकारले गठन गरेको सम्बन्धित समितिसँगको छलफलमा उक्त आग्रह गरिएको जानकारी दिए। उनले घोषित मितिमै निर्वाचन सम्पन्न गर्न नेकपाको पूर्ण समर्थन र सहयोग रहने स्पष्ट पारे।

पुनका अनुसार हालको अवस्थामा निर्वाचन प्रक्रियामा सहभागी हुन नेकपालाई कुनै समस्या नरहे पनि केही राजनीतिक दलहरूले शान्ति–सुरक्षासम्बन्धी गुनासोहरू उठाएका छन्। ती विषयहरूलाई समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको उनले बताए।

उनले विगतमा मुलुकमा राजनीतिक संकट उत्पन्न हुँदा दलहरूलाई एक ठाउँमा ल्याउन भूमिका खेलेको उल्लेख गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक पनि सबै राजनीतिक दलहरूबीच संवाद र सहकार्यको पहल गर्नुपर्ने अपेक्षा राखिएको जानकारी दिए।

“घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने विषयमा हाम्रो समर्थन र सहयोग स्पष्ट छ। जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा चुनावमा सहभागी हुने वातावरण बनाउनु आवश्यक छ,” पुनले भने।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपाले सबै राजनीतिक दलहरूसँग निरन्तर संवाद प्रक्रिया अघि बढाइरहेको पनि उनले बताए।

Please Login to comment in the post!

you may also like