काठमाडौँ– चाडपर्व नेपाली समाजको संस्कृति, परम्परा र जीवनशैलीको सुन्दर अभिव्यक्ति हो। दशैं, तिहार, तीज र छठजस्ता पर्वले परिवार, समुदाय र धार्मिक आस्थालाई जोड्छन्। तर, यी पर्वहरूको रौनक र व्यवस्थापनको जिम्मेवारी प्रायः महिलाको काँधमा थोपरिन्छ। घरायसी कामदेखि पाहुना सत्कारसम्म, भान्सादेखि पूजा सामग्री तयार पार्नेसम्मका काममा महिलाको भूमिका अपरिहार्य हुन्छ। यद्यपि, यस्तो श्रमको मूल्यांकन र सम्मान भने समाजमा अझै अपर्याप्त छ।नेपालको सन्दर्भमा, महिलाले गर्ने घरायसी कामलाई प्रायः "काम" को रूपमा स्वीकार गरिँदैन।
एक महिलाले बिहान उठेदेखि राति नसुतुन्जेल घर, बालबच्चा, वृद्धवृद्धा र पाहुनाको हेरचाहमा बिताएको समयलाई समाजले सामान्य ठान्छ। बागलुङकी एक महिलाले आफ्नो दिनभरको कामको लामो सूची सुनाउँदा पनि भनिन्, “मैले गर्ने कामलाई काम हो भनेर कसले मान्छ र?” यो भनाइले महिलाको श्रमप्रति समाजको हिनतावोध र उपेक्षालाई प्रष्ट पार्छ।दशैंमा टीका र प्रसाद तयार गर्ने, तिहारमा मिठाइ बनाउने र घर सजाउने, छठमा ३६ घण्टा निराहार व्रत बस्ने, तीजमा पुरुषको दीर्घायुको कामना गर्ने—यी सबै कार्यभार प्रायः महिलामाथि पर्छ। यता, पुरुषहरू प्रायः पूजा गर्ने, आशीर्वाद लिने वा सामाजिक गतिविधिमा देखिने भूमिकामा सीमित रहन्छन्। “चाडपर्व आउनु भनेको महिलाको जिम्मेवारी र भान्सामा जुठा भाँडा थुप्रनु हो,” एक गृहिणीको भनाइले यो वास्तविकतालाई उजागर गर्छ।महिलाले गर्ने श्रमलाई “कर्तव्य” ठान्ने र पुरुषको आर्थिक योगदानलाई मात्र “मूल्यवान्” मान्ने पितृसत्तात्मक सोचले यो असमानतालाई गहिरो बनाएको छ। सामाजिक मान्यताले महिलालाई “त्यागी” र “अरूलाई खुसी पार्ने” पात्रको रूपमा आदर्श बनाउँछ। उदाहरणका लागि, तिहारमा दिदीबहिनीले दाजुभाइका लागि मिठाइ बनाउँछन्, टीका लगाउँछन्, तर परम्परागत रूपमा उनीहरूले उपहार वा सम्मान कमै पाउँछन्। यस्तै, छठ र तीजमा महिलाले कठोर अनुशासन र व्रत पालना गर्छन्, जबकि पुरुषको भूमिका सहायक वा न्यून हुन्छ।नेपालको सन् २०२१–२२ को तथ्यांकअनुसार, ३२.४ प्रतिशत घरपरिवार महिलाले चलाएका छन्, जुन सन् २०११–१२ मा १९ प्रतिशत मात्र थियो। यो वृद्धिले महिलाको जिम्मेवारी र योगदान बढेको देखाउँछ। तर, घरायसी काम, हेरचाह र अनौपचारिक श्रमलाई आर्थिक मूल्यांकन नहुँदा महिलाको योगदान “अदृश्य” रहन्छ। “यदि यही कामका लागि ज्याला दिएर कर्मचारी राख्नुपरेको भए, समाजले यसको मूल्य बुझ्थ्यो,” एक सामाजिक अभियन्ता भन्छन्।
चाडपर्वमा खाना, कपडा र उपहारको व्यवस्थापन महिलाले गर्छन्, तर अन्तिम निर्णय र आर्थिक नियन्त्रण प्रायः पुरुषसँग हुन्छ। यो असमानताले महिलालाई घरेलु अर्थतन्त्रको केन्द्रमा राख्छ, तर वित्तीय पहुँच र स्वतन्त्रताबाट वञ्चित गर्छ। “महिलाले घर चलाउँछन्, तर पैसाको नियन्त्रण पुरुषसँग हुन्छ,” एक अर्थशास्त्रीको विश्लेषण छ।यो असमानतालाई हटाउन परिवार र समाजमा साझा जिम्मेवारीको संस्कृति विकास गर्नुपर्छ। घरायसी कामलाई आर्थिक दृष्टिकोणले मूल्यांकन गर्ने, महिलालाई वित्तीय पहुँच दिने र छोराछोरीलाई सानैदेखि समान जिम्मेवारीको शिक्षा दिने अभ्यास आवश्यक छ। साथै, स्थानीय सरकारले महिलामैत्री नीति र बजेटमार्फत बालबालिका हेरचाह, स्वास्थ्य, शिक्षा र उद्यममा लगानी बढाउनुपर्छ।
चाडपर्वलाई केवल रमाइलोको अवसर नभई सामाजिक समानताको मञ्च बनाउन सकिन्छ। “चाडबाड सबैको हो, त्यसैले कार्यभार पनि बराबरी बाँडौँ,” सामाजिक अभियन्ताहरूको आह्वान छ। आदर्श महिला र पुरुषको परिभाषालाई बदल्दै, आफूलाई पनि रमाउन खोज्ने महिलालाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्छ।चाडपर्वको रौनकमा सबैले बराबरी हिस्सा पाउनुपर्छ। जबसम्म महिलाको श्रमको सम्मान र मूल्यांकन हुँदैन, तबसम्म हाम्रो समाज साँचो अर्थमा समान र न्यायपूर्ण हुन सक्दैन।