• Thursday, March 5, 2026

कर बक्यौता असुलीमा सुस्त प्रगति: तीन लाख ३० हजारभन्दा बढी करदाताबाट रु २ खर्ब ७५ अर्ब उठ्न बाँकी


काठमाडौं। आन्तरिक राजस्व विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा कर बक्यौता असुलीमा अपेक्षित प्रगति नदेखिएको जनाएको छ। तीन लाख ३० हजार ९१२ करदाताबाट झन्डै दुई खर्ब ७५ अर्ब बराबरको कर अझै उठ्न बाँकी छ।

प्रतिवेदनअनुसार बक्यौता करदाताबाट ९४ अर्ब ९५ करोड र प्रशासकीय पुनरावलोकनमा रहेका करदाताबाट थप एक खर्ब ८० अर्ब १० करोड उठ्न बाँकीछ। आयकरतर्फ मात्रै दुई खर्ब १९ अर्ब ११ करोड बक्यौता छ भने भ्याटमा ४८ अर्ब ७० करोड, अन्तःशुल्कमा चार अर्ब नौ करोड र अन्य शीर्षकमा तीन अर्ब १५ करोड बाँकी रहेको छ।

लक्ष्यअनुसारको प्रगति पनि कमजोर देखिएको छ। आयकर बक्यौता संकलनमा २२ अर्ब ७६ करोडमध्ये ३८.२९ प्रतिशत मात्र असुल भएको छ। भ्याट बक्यौता पनि १६ अर्ब ३३ करोड लक्ष्यमध्ये १० अर्ब ३३ करोड (६३.२८%) उठेको छ।

यद्यपि समायोजनतर्फ भने सकारात्मक नतिजा देखिएको छ। आयकर समायोजनमा ७८.१% प्रगति हुँदा भ्याट समायोजनमा १२२.६३% उपलब्धि हासिल भएको विभागले जनाएको छ।

विभागका अनुसार आगामी वर्ष कर बक्यौता असुलीलाई विशेष प्राथमिकतासहित अघि बढाइनेछ।

Please Login to comment in the post!

you may also like