• Saturday, June 21, 2025

शिशु जन्मनासाथ पाँच हजार र कोही व्यक्तिको मृत्युपछि १० हजार उपलब्ध गराउने - तारकेश्वर नगरपालिका


काठमाडौ। काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ पाँच हजार र कोही व्यक्तिको मृत्युपछि १० हजार उपलब्ध गराउने भएको छ।
नगरपालिकाले आयोजना गरेको ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तक्रिया कार्यक्रम’मा नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलले नगरबासीको सुविधाका लागि उक्त रकम उपलब्ध गराउन लागेको जानकारी दिए।
उनले ‘कोखदेखि शोकसम्म’ कार्यक्रमअन्तर्गत नगरपालिकाले भर्खरै जन्मेको बच्चालाई पाँच हजार उपलब्ध गराउने र उक्त रकम १६ वर्ष पुगेपछि साँवा ब्याजसहित प्राप्त हुने व्यवस्था मिलाइएको बताए। त्यसैगरी मृत्युपछि काजक्रिया र अन्तिम संस्कारका लागि १० हजार उपलब्ध गराउने जनाएको छ।
नगरप्रमुख महर्जनले ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई भने मासिक दुई हजार दिने व्यवस्था गरिएको जानकारी दिए। उनले आफूसहित सिंगो कार्यपालिका निर्वाचित भएको तीन वर्षमा तारकेश्वरभित्रका सबै घरमा धारा पुर्‍याउने काम गरिरहेको बताए।
नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक वर्ष मेयर रनिङ शिल्ड प्रतियोगिताको थालनी, आँखाका बिरामीका लागि तिलगंगा आँखा केन्द्र स्थापना, डायलासिस सेवाको शुभारम्भ, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, नगरभित्रका सडक कालोपत्रेलगायत गर्दै आएको छ।
नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीले नगरभित्र रोजगारी सिर्जना गर्न नगरपालिकाले विभिन्न किसिमका तालिम प्रदान गर्दै आएको जानकारी दिए। उनले आफूहरू निर्वाचित भइसकेपछि नगरपालिकाको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताए।

Please Login to comment in the post!

you may also like